भोजपुर । समयमा नै निर्माणाधिन अवस्थामा रहेका पुलहरुको निर्माण कार्य सम्पन्न गर्न भोजपुर प्रशासनले सरोकारवाला निकायको ध्याकर्षण गरेको छ । समयमा पुल नबन्दा दुर्घटनाका घटनाहरु समेत बढदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निर्माण कार्य समयमा नै सम्पन्नका लागि निर्माण ब्यवसायी र सरोकारवाला निकायहरुमा दवाब बढाएको हो ।
भोजपुरलाई उदयपुर हुँदै तराईका अन्य जिल्लासँग जोड्न भनेर चुहारस्थित दूधकोसी नदीमा निर्माण सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । समयमा पुल निर्माण नहुँदा त्यो बाटो यात्रा गर्नेले ठूलो समस्या भोग्नु परेको छ । मोटरेवल पक्की पुल निर्माणको काम कालिका प्यासिफिक जेभी काठमाण्डौले पाएको भए पनि केही काम मात्र भएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा सहितको अनुगमन टोलीले पुल निर्माण स्थलमा पुगेर स्थलगत अवस्था समेत बुझेको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो, “भोजपुर र उदयपुर हुदै तराईका जिल्लाहरु जोडन निर्माण कार्य थालिएको चुहार पुलको निर्माण कार्य प्रभावकारी हुन सकिरहेको देखिएन, समयमा पुलको निर्माण कार्य सम्पन्न गर्न स्थलगत अनुगमनसँगै सम्वन्धित निर्माण कम्पनीलाई परिपत्र गरिएको छ ।” पुलको अभावमा सवारीका साधन वारीपारी संचालन गर्नुु पर्ने अवस्थाका कारण दुर्घटनाहरु समेत बढदै गएका छन, पुलको अभावमा कम सवारीका साधनहरु चल्ने र यात्रुले जोखिम पूर्ण यात्रा गर्नु परेका कारण दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढदै गएको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाई रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले पुल निर्माण नभएका कारण तराईका जिल्लाहरुमा सहजरुपमा आवतजावत गर्न, जिल्लको दक्षिणी क्षेत्रका बिरामीहरुलाई थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालसम्म लान र दैनिक उपभोेग्य सामाग्रीहरु ल्याउन समेत समस्या हुने गरेको भन्दै तत्काल प्रभावकारीरुपमा निर्माण कार्य थाल्न निर्माण पक्षका साथै सरोकारवाला निकायहरुलाई परिपत्र गर्दे दवाब बढाएको हो । प्रशानसले पुल निर्माणका बिषयमा गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्लाका संघ तथा प्रदेशका सांसदहरु, यातायात तथा पूर्वाधार निर्दैशनालय इटहरी, सम्वन्धित गाउँपालिकाहरुको पनि ध्यानाकर्षण गराएको छ ।
तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले भोजपुरको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको थियो । तर, पुल अलपत्र पर्दा गाउँका कृषि उत्पादनले बजार पाउन सकेका छैनन् । २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी कालिका प्यासिफिक जेभीले ठेक्का लिएको थियो । समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीलाई पछिल्लो पटक २०८० असोज १३ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको थियो । २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा निर्माण थालिएको पुल अलपत्र पर्दा यस क्षेत्रका बासिन्दाले धरानसम्म पुग्न करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । ९० मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको यो पुलको काम केही प्रतिशत मात्र भएको छ ।
यता निर्माणका क्रममा भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिला हुँदा स्थानीय ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । दक्षिणी क्षेत्रको रामप्रसादराई र हतुवागढी गाउँपालिका जोड्ने सो खोलामा पुल निर्माणका क्रममा भाँचिएको थियो । स्वीस बिकास नियोग, एसडिसीको प्राबिधिक तथा बित्तिय सहयोगमा निर्माणधिन मोटरेवल पुलको प्रमुख जिल्ला अधिकारी सापकोटा सहितको टोलीले अनुगमन गरेको छ ।
प्रादेशिक सडक पुल सहयोग इकाई कार्यक्रम इटहरी सुनसरीलाई परिपत्र गर्दे जिल्ला प्रशासन कार्यालयले गुणस्तरीयता कमी आई निर्माणाधिन आयोजना चर्किएर भत्किएको, बर्षातको समय भन्दा अगाडी नै पुलको निर्माण कार्य सम्पन्न गर्न लगाउने, निर्माण कार्यमा गुणस्तरीयता कायम गर्ने, सहजीकरण आवश्यक भएका स्थानीय प्रशासनसँग समन्वय गर्ने लगायत बिषय समेटेर परिपत्र गरेको हो ।
पुल निर्माण समयमा हुन नसक्दा ज्यानको जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था देखिएको छ । पैदलयात्रुसँगै सवारीसाधनलाई पार गर्न निकै कठिन रहेको स्थानीयहरुको गुनासो रहेको छ । मोटरसाइकललाई खोला तार्नका लागि तीन–चार जनासम्म युवा चाहिने जिल्लावासी काजीमान राईको भनाई रहेको छ । राईले भन्नुभयो, “वर्षात् सुरु भयो, खोलामा भेल बढ्छ, पुल अभावमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ ।”
पाँच करोडको लगानीमा २०७६ फागुन १२ मा शिलान्यास गरेर पुलको निर्माण थालिएको थियो । तर करिब ९० प्रतिशत काम सकिएर ढलान गरेपछि पुल बीचमा भाँचिएको थियो । पक्की पुल स्विस सरकारको सहयोगमा बनिरहेको थियो ।
पुललाई चाँडो निर्माण गराउनका लागि पालिका पनि लागि परेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले पुल पुनःनिर्माणलाई चाँडो गर्न भनिरहेका छौँ । पुल नहुँदा दक्षिणी भेगका स्थानीयलाई धेरै नै सास्ती छ । यसलाई चाँडो निर्माण सम्पन्न गराउनेमा पहल जारी छ ।” पुलको पुन निर्माण कार्य भई रहेको छ । ४५ मिटर लम्वाई र छ मिटर चौडाईको पुल बन्ने छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements