
✍️ खुशराज दाहाल
खेलकुद विकासको पूर्वाधारमात्र होइन । तल्लो तहबाट गरिने प्रतियोगिताले खेलकुदको विकासको मापन हुनसक्छ । स्वस्थ्य र मर्यादित नागरिक उत्पादन गर्ने मुख्य उद्देश्य लिएको खेलकुद क्षेत्रले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेल्न सक्छ । यही मूल्य र मान्यताका आधारमा नेपालमा तल्लो तहबाटै खेलाडी उत्पादन गर्नुपर्दछ भन्ने उद्देश्यबाट विद्यालय तहबाट नै खेलाडी उत्पादन गर्नेगरी राष्ट्रपति रनिङसिल्ड खेलकुद हुँदै आएको छ ।
गणतन्त्र स्थापना अघिसम्म वीरेन्द्र सिल्डको नामबाट विद्यालयहरूबीच हुने प्रतियोगिता पछिल्लो समय राष्ट्रपति रनिङ सिल्डका रूपमा खेलाइन्छ । वीरेन्द्र सिल्ड प्रतियोगिता जिल्लामा जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै शिक्षा मन्त्रालयले सञ्चालन गर्ने गरेको थियो । राष्ट्रपति रनिङ सिल्ड नामकरण भएपछि जिल्ला खेलकुद हुँदै केन्द्रीय प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गर्दै आएको छ । राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता अन्तरविद्यालय खेलकुद पनि हो ।
पहिलो पटक सुदूरपश्चिमले अन्य प्रदेशलाई निकै पछाडि छोड्दै प्रथम हुन सफल भएको छ । अघिल्ला तीन वर्ष लगातार लुम्बिनी प्रदेशले प्रथम हुँदै रनिङ सिल्ड आफ्नो बनाएको थियो भने यस वर्ष लुम्बिनी पाँचौं स्थानमा सीमित भएको छ ।
पालिका स्तरका विद्यालयबीच प्रतिस्पर्दा हुँदै माथिल्लो तहसम्म खेलाडीले अवसर पाउने गर्दछन् । खेल प्रतिभाको खोजीका रूपमा पनि यस प्रतियोगितालाई लिन सकिन्छ । खेल क्षमता र कौशल भएका प्रतिभाले प्रतिस्पर्दाको मौका नपाएकाहरूलाई राष्ट्रपति रनिङ सिल्ड सुनौलो अवसर बन्ने गर्दछ ।
राष्ट्रपति रनिङ सिल्ड जुनियर खेलाडीबीचको ठूलो प्रतियोगिता हो । विगतमा कति विद्यालय, पालिका तथा खेलाडीको सहभागिताबाट छनौट भएर केन्द्रमा खेलाडी आउँथे, त्यसको यकिन विवरण संकलनमा कठिनाइ थियो । तर, १४आंै संस्करण सम्पन्न गर्दै गर्दा त्यसको यथार्थ विवरणसमेत राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको छ ।
सहभागिता :
सहभागिताको दृष्टिकोणबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बृहत् राष्ट्रिय खेलकुदभन्दा कम हँुदैन । १४आंै राष्ट्रपति रनिङ सिल्ड केन्द्रीय प्रतियोगिता सञ्चालन गर्दा सात प्रदेशबाट टिम सहभागी भएका भए । विगतमा केही वर्षदेखि सबै प्रदेशहरूले भाग लिन सकिरहेका थिएनन् । यो वर्ष केन्द्रको समन्वय तथा प्रदेश खेलकुद परिषद्हरूको सक्रियताले गर्दा सबै प्रदेशले केन्द्रीय प्रतियोगितामा भाग लिएका हुन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलका गरी प्रत्येक टिममा ९८ जना खेलाडी, ९ जना प्रशिक्षक, ६ जना व्यवस्थापक र दुईजना अफिसियल गरी ११५ जनासहित कुल ८०५ जनाको सहभागिता थियो ।
७ सय ५३ स्थानीय तहमध्ये ६ सय २५ स्थानीयले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरेको देखिन्छ । १५ हजार एक सय ५० विद्यालयबाट ६ लाख १२ हजार एक सय ५१ जना विद्यार्थी खेलाडीहरूले प्रतियोगितामा भाग लिएका थिए । जसमा २ लाख ९६ हजार ९ सय छात्रा र ३ लाख १५ हजार दुई सय ५१ जना छात्राको सहभागिता थियो । यति ठूलो संख्यको सहभागिताबाट सञ्चालन हुने केन्द्रीय प्रतियोगिता सायद यो मात्र हो । त्यसैले राष्ट्रपति रनिङ शिल्ड जुनियर प्रतियोगितामात्र होइन कि खेलाडीका लागि महाकुम्भ पनि हो ।
राष्ट्रिय रेकर्ड :
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विशेषताका रूपमा पाँचवटा राष्ट्रिय रेकर्ड ब्रेक भएका छन् ।
- देवकीकुमारी धामी (सुदूरपश्चिम प्रदेश) ले ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कृतिमान बनाइकी हुन् । उनले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेण्डमा पूरा गर्दै २०७५ सालमा राममाया बुढाले बनाएको १० मिनेट ५७.२ सेकेण्डको कीर्तिमान तोडेकी हुन् ।
- सुदूर पश्चिम प्रदेशबाट सहभागी भएका ट्रिपलजम्प खेलाडी आशिष महरले १४.१९ मिटर पार गरी नयाँ रेकर्ड बनाएका छन् । उनले ३६ वर्षको रेकर्ड तोडेका हुन् । उनले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान भंग गरेका थिए ।
- ४ हजार ४०० रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जितेका हुन् । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेण्डमा पार गरेका थिए । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेण्डको कीर्तिमान थियो ।
- ८०० मिटर दौडमा कर्णालीकी सरिता खड्काले २ मिनेट २८.५ सेकेण्डमा निर्धारित दूरी पूरा गरी नयाँ रेकर्ड बनाएकी हुन् ।
ड्ड गण्डकीका गणेश विकले हाइजम्पमा राष्टिय जुनियर रेकर्ड बनाएका छन् । उनले १.८१ मिटर जम्प गरेर २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारूले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरेका हुन् ।
नतिजा :
विगत वर्षभन्दा यस पटको नतिजा पनि केही भिन्न रूपमा देखियो । पहिलो पटक सुदूरपश्चिमले अन्य प्रदेशलाई निकै पछाडि छोड्दै प्रथम हुन सफल भएको छ । अघिल्ला तीन वर्ष लगातार लुम्बिनी प्रदेशले प्रथम हुँदै रनिङ सिल्ड आफ्नो बनाएको थियो भने यस वर्ष लुम्बिनी पाँचौं स्थानमा सीमित भएको छ । कर्णालीले पहिलो पटक दोहोरो अंकमा पदक प्राप्त गरेको मात्र होइन कि तृतीय नै भएको छ । यसरी हेर्दा खेलाडीहरू दूरदरारका विद्यालयमा छन् भन्ने प्रमाणित भएको छ ।
राष्ट्रपतिका नामबाट सञ्चालन हुन थालेपछि पनि यो प्रतियोगिता औपचारिकतामा मात्र सीमित हुँदै आएको देखिन्छ । तर १४औं संस्करणबाट यसको महत्वलाई आमनागरिकसम्म पुर्याउने प्रयास भएको छ । प्रचारप्रसारको दृष्टिकोणबाट वा तथ्यांक अभिलेखीकरण गर्ने प्रयास भएका छन् । यस्तै विभिन्न सामाजिक सञ्जाल तथा युटुवमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम, प्रदेश टिम, सुरक्षा निकाय तथा विद्यालयहरूको मार्चपासले राष्ट्रिय प्रतियोगिताको अर्थ दिएको थियो ।
विगत केही वर्षदेखि सरकारले प्रत्येक पालिकामा राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि एक लाखका दरले विनियोजन गर्दै आएको छ । यस्तै प्रदेश छनौट र केन्द्रीय प्रतियोगिताका लागि पनि युवा तथा खेलकुद मन्त्रालयमाफर्त बजेट छुट्याइएको हुन्छ । तर, यो रकम अत्यान्त न्यून छ ।
१४औं राष्ट्रपति रनिङ सिल्डको अर्को विशेषताका रूपमा खेलाडीहरूको विभिन्न पक्षमा अनुसन्धान र परीक्षणसमेत गरिएको छ । सहभागी खेलाडीहरूको भौगालिक तथा समाजिक क्षेत्रमा अभिरुचि बारे तथ्यांक संकलन गरिएको छ । जसमा कोशीबाट ८६, मधेसबाट ८८, बागमतीबाट ८५, गण्डकीबाट ८९, लुम्बिनीबाट ८४, कर्णालीबाट ८३ र सुदुरपश्चिमबाट १०० जना गरी कुल ६१५ जनाको सहभागी थियो । जसमा ३०८ छात्रा खेलाडी सहभागी थिए । यस्तै खेलाडीको शारीरिक बनौट तथा अवस्थाका विषयमा समेत अध्ययन गरिएको थियो । यस अध्ययनमा १७० जना खेलाडी सहभागी थिए ।
राष्ट्रपति रनिङ सिल्ड खेलकुदलाई आमनागरिकसम्म पुर्याउने र खेलकुदप्रति युवा पुस्तालाई आकर्षित गर्ने प्रयासस्वरूप परिषद्ले यस पटक विभिन्न प्रयास गरेको थियो । प्रतियोगिताको महत्व निकै रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले हरेक स्थानीय क्षेत्रमा खेलकुदको संरचना निर्माणका लागि सरकारको अग्रसरता हुनुपर्ने बताउनुभएको छ । विदेशमा राष्ट्रिय झण्डा बोक्ने क्षमतावान खेलाडीको खोजीमा यो प्रतियोगितालाई अधिकतम उपयोग गर्न सक्नुपर्ने छ । यसका लागि पर्याप्त बजेट विनियोजन हुन जरुरी छ ।
न्यून बजेट :
विगत केही वर्षदेखि सरकारले प्रत्येक पालिकामा राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि एक लाखका दरले विनियोजन गर्दै आएको छ । यस्तै प्रदेश छनौट र केन्द्रीय प्रतियोगिताका लागि पनि युवा तथा खेलकुद मन्त्रालयमाफर्त बजेट छुट्याइएको हुन्छ । तर, यो रकम अन्यान्त न्यून छ । पालिकाहरूले राष्ट्रपति रनिङसिल्ड सञ्चालनका लागि दशौं लाख खर्च गरेका हुन्छन् । सरकारले छुट्याइदिएको रकमले मात्र स्थानीय तहमा छनौट हुन नै सक्दैन । यस्तै जिल्ला प्रतियोगिताका लागि पनि बजेट अपुग छ । प्रत्येक जिल्लामा तीनदेखि पाँच लाखसम्म मात्र बजेट विनियोजन हुँदै आएको छ ।
छनौट तथा सहभागिताको दृष्टिकोणबाट निकै ठूलो प्रतियोगिता भए पनि बजेटको दृष्टिकोणबाट महत्वहीन प्रतियोगिताजस्तो देखिँदै आएको छ । यस कार्यक्रमलाई खेलाडी उत्पादनसँग जोड्ने र उद्देश्य पूरा गराउने हो भने पर्याप्त मात्रामा बजेट विनियोजन आवश्यक छ । पर्याप्त बजेटविनाका प्रतियोगिताहरू केबल औपचारिकतामा मात्र सीमित हुने छन् । राष्ट्रपति रनिङ सिल्डलाई उद्देश्यमूलक र परिणाममुखी बनाउने गरी कार्यक्रम र बजेट सुनिश्चित हुनु आवश्यक छ । (दाहाल राखेप प्रचारप्रचार प्रमुख हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच