इलाम । इलाम २ मा हुन लागेको उप निर्वाचना लागि आज रातिदेखि सिमा शिल हुने भएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर आज राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र शिल हुने भएको हो ।
विगतको अभ्यास झैं सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका शिल गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुुभयो । इलाम २ का कुनैपनि क्षेत्रले भारतीय सीमा भने छुँदैन । भारतीय एसएसबी, बंगाल प्रहरी र भारतीय सीमा सुरक्षा प्रशासनसँग दुवै पक्षको निर्वाचन सुरक्षित बनाउन निरन्तर दोहोरो छलफल भइरहेको प्रशासनले जानकारी दिएको छ । यता लोकसभा निर्वाचनकालागि भारतले पनि हिजो साँझदेखि सीमा शिल गरेको छ । शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरेको हो ।
पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै सीमा नाका सिल गरिएको हो । इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरु सिल भएको छ । भारतको पश्चिम बंगाल राज्यमा ७ देखि १९ वैशाखसम्म लोकसभाको निर्वाचन ७ चरणमा भइरहेको छ ।






