म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयले आइतबार (आज) सञ्चालन गरेको प्रवेश परीक्षामा दुइसय ४० जना भन्दा धेरै विद्यार्थीहरू सहभागी भए ।
कक्षा एक देखि नौ सम्म जम्मा एक सय १० जना नयाँ विद्यार्थीलाई भर्ना लिन सकिने क्षमता भएकोले सोही अनुसार कोटा निर्धारण गरिएकोमा क्षमताभन्दा दोब्बर विद्यार्थीहरु आए पछि प्रवेश परीक्षा लिनु परेको हो ।
बेनी नगरपालिका–७, बेनीबजारमा अवस्थित बेनी सामुदायिकमा हरेक बर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ । सहरदेखि गाउँमा रहेका सामुदायिक र निजी विद्यालय छोडेर आएका विद्यार्थीले आइतबार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागिता जनाएका हुन् ।
एक सातासम्म विद्यालयले जारी गरेको भर्ना आवेदन फारममा विद्यार्थीले बायोडाटा सहितको विवरण बुझाएर प्रवेश परीक्षामा सहभागि भएका थिए । कक्षा कोठामा परीक्षा दिइरहेका विद्यार्थीका अभिभावको विद्यालय परिसर तथा आसपासका क्षेत्रमा बार्षिक परीक्षा जस्तै लाग्ने गरी भिडभाड देखिन्थ्यो ।
भौतिक संरचना र मानवीय जनशक्तीको अभावले १ देखी ९ कक्षासम्म क्षमता अनुसार १ सय १० विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा २ सय ४० भन्दा बढी विद्यार्थीको सहभागिता रहेकोे थियो । भौतिक पूर्वाधारको अभावका कारण सबै विद्यार्थीलाई भर्ना गर्न समस्या भएकाले प्रवेश परीक्षा रहर नभई बाध्यता भएको प्रधानध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।
भौतिक संरचना, शिक्षक दरबन्दीको अभाव लगाएतका कारण आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असमर्थ रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापाको भनाइरहेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषितसँगै आर्थिक वर्ष २०७९–०८० मा नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले गरेको मूल्याङ्कनमा बेनी सामुदायिक देशभरका विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको थियो । विद्यालयमा हालसम्म देशभरबाट १ सय ६८ विद्यालयले अवलोकन भ्रमण समेत गरेका छन् ।
बेनी नगरपालिका–६ का दिनेश खत्रीले बेनी सामुदायिक विद्यालय भित्रको वातावरण देखेर छोरालाई भर्ना गर्न आएको बताउनुभयो । उहाँले छोरालाई प्रवेश परीक्षाका लागि निरन्तर अतिरिक्त तयारी समेत गरेर ल्याएको जानकारी दिनुभयो ।
बेनी सामुदायिकमा अंग्रेजी माध्यमबाट अध्ययन, अभिभावकको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावकबीचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडान लगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुतीले समेत अभिभावकको ध्यान तान्ने गरेको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts