काठमाडौं । नेपाली साहित्यमा विशिष्ट स्थान बनाउनु भएका कथाकार तथा कवि पोषण पाण्डेको ३२ औं स्मृति दिवस कार्यक्रम हिजो बैशाख ७ गते शुक्रबार मनाइएको छ ।
उक्त अवसरमा पोषण पाण्डे तीर्थ सदनले मोरङ, बिराटनगर (हाल भक्तपुर) निवासी साहित्यकार मन्दिरा मधुश्रीलाई उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानलाई कदर गरेको थियो भने 'पोषण पाण्डे तीर्थ सदन पुरस्कार २०८१' ले सम्मानित गर्नुका साथै दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद प्रदान गरिएको थियो ।
सदन पदाधिकारी, निर्णय कमिटी तथा परिवारजनको उपस्थितिमा सदनको कार्यालय स्थित मिनभवनमा भएको उक्त समारोहमा पोषण पाण्डेको कथा तथा कविता वाचन गरेर वहाँ प्रति श्रद्धा अर्पण गरिएको थियो भने पुरस्कार निर्णय कमिटीको संयोजक समेत रहनुभएकी वरिष्ठ साहित्यकार माया ठकुरीले मन्तव्य को क्रममा साहित्यमा निरन्तर लागिरहने नयाँ पुस्ताहरुलाई यस्तो सम्मानले निक्कै सकारात्मक सन्देश जाने बताउनु भएको थियो ।
कथा, गीत, गजल, उपन्यास जस्ता विविध विधामा कलम चलाउनु भएकी मन्दिराको चयनले नयाँ पुस्तालाई प्रेरणा र पोषण पाण्डेको आत्मालाई सन्तुष्टि प्राप्त हुने आफ्नो विश्वास रहेको पनि उहाँले बताउनुभयो ।
भविष्यमा पोषण पाण्डेका कृतिहरू प्रकाशन, पुन प्रकाशन गराउँदै जानुको साथसाथै सदनले साहित्य लगायत सामाजिक सेवामा समेत योगदान पुर्याउने उद्देश्य लिएको बारे पोषण पाण्डे तीर्थ सदनकी महासचिव रन्जु पाण्डेले आफ्नो मन्तव्यमा बताउनु भयो ।
सदनका कोषाध्यक्ष रामकुमार पण्डितले सञ्चालन गर्नुभएको उक्त समारोहलाई सदनका अध्यक्ष तथा साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता