
‘सुगन्धपुर’ कथासङ्ग्रहमार्फत् नेपाली साहित्यमा कथाकारको रूपमा आफ्नो परिचय स्थापित गरिसकेका सर्जक विश्व कुइँकेलको दोस्रो कृति हो ‘गोपीचा’ उपन्यास । नेपालको निरंकुश राणाकालीन समयको ऐतिहासिक विषयवस्तुमा आधारित यो उपन्यासमा इतिहासको गर्तमा हराएको एक गुमनाम पात्रको जीवनकथालाई प्रस्तुत गरिएको छ । यो उपन्यासलाई शिखा बुक्सले प्रकाशित गरेको छ ।
इतिहासका केही गुमनाम पात्रहरू जसले लोकतन्त्रका लागि ज्यानसम्म अर्पण गरे, तर कुनै पनि ऐतिहासिक दस्तावेजमा तिनका नामसम्म लेखिएनन्, त्यस्ता पात्रहरू धेरै छन् । खोजिपस्ने हो भने त्यस्ता धेरै पात्रहरू भेटिन सक्छन् । तिनले चालेका पाइलाको जगमा बसेर आज विभेद र बहिष्करणको चर्चा गरिन्छ तर त्यसलाई कुनै आन्दोलनले विद्रोहको नाम दिएन । तिनलाई देशले सम्झेन । समाजले सम्झेन । राजनीतिले सम्झेन र तिनकै परिवारले पनि सम्झेन । घुर्मैलो अँध्यारोमा सुनेको हो कि, चिनेको हो कि, जानेको हो कि, गरेको हो कि भन्ने सादा आहानको जगमा बिलाइरहेका त्यस्तै धेरै पात्रहरूमध्ये एक गोपी शर्मा उर्फ गोपी च्यामेको कथा हो ‘गोपीचा’ उपन्यास ।
उपन्यासको कथानक सामान्य खालको छ । एउटा बिग्रेको बाहुन केटा गोपी शर्माले पानीसमेत नचल्ने बिजातीय केटी सुनमैँचा अर्थात् सुनकेशरीलाई मन पराउँछ र प्रेम गर्छ । तत्कालीन समयमा त्यसरी बिजातीय केटीसँग प्रेम गर्नु नै अपराध ठहरिन्छ । त्यही अपराधमा उसको जात काढिन्छ ।
गैरजातीय विवाह गरेकोमा जातच्युत गरी ‘च्यामे’ बनाएर जेल सजायसमेत तोकिएका गोपी शर्मा भद्रगोल जेलमा रहँदा गणेशमान सिंहको योजनामा जेलब्रेक गरी भाग्ने योजनाका सहयात्रीसमेत बन्न सफल एक ऐतिहासिक र असामान्य घटनाका सामान्य पात्र हुन् । उनैको जीवनको छोटो किस्सामा आधारित कथानकमा बुनिएको उपन्यास ‘गोपीचा’ रोचक छ । पढाइ र कामलाई बेवास्ता गरेर बिन्दास जीवनको बाटो रोजेका पात्र गोपी शर्माको प्र्रेमकथा पनि रोचक छ । अझ काठमाडौं शहरको बाहुन ठिटो गोपी शर्मा कसरी गोपी च्यामे अर्थात् गोपीचा बन्यो भन्ने कथा झनै रोचक छ । राणाकालीन समाज, राजनीति, जाति व्यवस्था र निरंकुशताविरुद्धको राजनीतिक विद्रोहको विषयलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास इतिहासलाई चियाउने आँखीझ्याल पनि हो । यसमा कुनै सन्देह छैन ।
उपन्यासको कथानक सामान्य खालको छ । एउटा बिग्रेको बाहुन केटा गोपी शर्माले पानीसमेत नचल्ने बिजातीय केटी सुनमैँचा अर्थात् सुनकेशरीलाई देख्छ र मन पराउँछ अर्थात् प्रेम गर्छ । तत्कालीन समयमा त्यसरी बिजातीय केटीसँग प्रेम गर्नु नै अपराध ठहरिन्छ । त्यही अपराधमा उसको जात काढिन्छ र उसले सजाय पाउँछ । केरकार हुन्छ । जेलमा टङ्कप्रसाद र हीराकाजी अर्थात् गणेशमानजस्ता राजबन्दीसँग उसको भेट हुन्छ । जेलब्रेक गर्ने योजना बन्छ । अन्तिममा गएर योजना असफल हुन्छ । गोपी पक्राउ पर्छ । केरकार हुन्छ । सत्य बकाउने निहुँमा गोपीलाई शारीरिक यातना पनि दिइन्छ तर उसले साँचो कुरा भन्दैन । अन्ततः यातनाकै कारण जेलमै उसको मृत्यु हुन्छ । कथा यत्ति नै हो ।
कथानकलाई सर्सर्ती हेर्दा जातीय विद्रोहको रोमाञ्चक प्रेमकथाजस्तो मात्रै देखिए तापनि तत्कालीन परिस्थितिमा यो जातीय विद्रोह राज्यविरुद्धको अपराध जस्तो भइदियो र बिजातीय प्रेम गरेर जातीय विद्रोह गर्ने गोपी शर्मा राज्यविरुद्धको अपराधको दोषी करार भयो र सजायको भागीदार बन्यो । एक आवारा केटा प्रेमले डो¥याइएर घरपरिवार नै त्याग गर्ने, जातच्यूत हुने र अन्ततः राजनीतिक विद्रोहमा सामेल हुने कार्यसम्मका लागि तयार हुने परिस्थितिको सिर्जना गरिएको हुँदा यो उपन्यासले सामान्य कथानकबाट गहन विषयको उठान गरेको छ भन्न करै लाग्छ । जातै काढेर जेल हालिएको एक बाहुन केटालाई गोपी च्यामे नभनेर गोपीचा मात्रै भन्नुले तत्कालीन समयमा गोपी शर्माले गरेको जातीय विद्रोह, त्याग र वलिदानको सम्मान हो भन्न सकिन्छ ।
उपन्यासमा जुद्धशमशेरकालीन काठमाडौं शहर र त्यस वरिपरिको काँठको तत्कालीन समयको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण भएको पाइन्छ । साथै काठमाडौंको स्थानीय नेवारजातिको संस्कृतिको चित्रण पनि छ । प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् भन्ने मान्यता यहाँ एउटा बाहुन केटा र च्यामे केटीबीचको उमेरजन्य प्रेममा पनि लागु भएको छ । यो उमेरजन्य शारीरिक आकर्षणमात्रै नभई साँचो प्रेम नै हो भन्ने कुरा गोपी शर्माको त्याग र समर्पणबाट पुष्टि हुन्छ । यो बिजातीय प्रेमकथाका पात्रहरूलाई उपन्यासकारले जातीय विद्रोहको प्रतिनिधि पात्रको रूपमा उभ्याउन खोजेको आभास हुन्छ ।
यसो त कथानकभित्र तत्कालीन समाजमा व्याप्त जातीय विभेद र शासकीय निरंकुशताले नागरिक अधिकार कुण्ठित भएको र त्यसले मान्छेको स्वतन्त्रताको हक खोसेको भन्ने तथ्यलाई इङ्गित गरेको पनि देखिन्छ भने तत्कालीन शासकवर्गको स्वेच्छाचारी चरित्रलाई पनि देखाइएको छ । अतः यो उपन्यास जुद्धशमशेरकालीन समाज र शासनपद्धतिलाई नियाल्ने आँखीझ्याल पनि हो ।
‘गोपीचा’ एउटा चरित्रप्रधान उपन्यास हो । विशेषगरी मूलपात्र गोपी शर्माको चरित्रमाथि यो उपन्यास केन्द्रित छ । चरित्रका दृष्टिकोणले हेर्दा गोपी शर्मालाई सुरुमा एउटा आवारा बाहुन केटाको रूपमा प्रस्तुत गरिएको छ । पढाइमा मन नलगाएको, जातअनुसारले जजमानीमा मन नलगाएको र कुनै कामधन्दामा पनि मन नलगाएको र मनमौजी ढङ्गले डुलिहिँड्ने एउटा बिग्रेको केटाको रूपमा गोपी शर्माको चरित्र चित्रण गरिएको छ । तर, जब ऊ सुनमैँचा अर्थात् सुनकेशरीको प्रेममा पर्छ, तब उसलाई एउटा त्यागी र समर्पित प्रेमीको रूपमा प्रस्तुत गरिएको छ ।
प्रेमका लागि घरपरिवार त्याग्ने, जात परिवर्तन गर्न पनि कत्ति नडगमगाउने र विद्रोहका पाइलामा सामेल हुने एक धीरोदात्त नायकको रूपमा गोपी शर्मालाई उभ्याइएको छ । उसको यो त्याग र समर्पणभित्र जातीय विभेदप्रतिको विद्रोह पनि झल्किन्छ । ऊ भन्छ, ‘खोइ आमा, मैले सुनकेशरीसँग बिहे किन गर्न नहुने भन्ने कुरा थाहा नै छैन । यस्तै काम राजा-महाराजाले गर्न हुने । उनीहरूले भोग्न हुने । हामी रैतीलाई किन यस्तो ?’ (पृष्ठ ८०) प्रश्नको गाम्भीर्यता मननीय छ ।
सिङ्गो उपन्यास एक गुमनाम पात्रको कथा हो । बिजातीय विवाह गरेर दोहोरो सजाय भोगेको गोपी शर्मालाई अत्यन्तै महत्व दिएर कथानकलाई अघि बढाइएको छ तर त्यही बिजातीय विवाहसँग जोडिएको उत्तिकै महत्वपूर्ण पात्र सुनमैँचा अर्थात् सुनकेशरीलाई गुमनाम राख्नुले ऊप्रति अन्याय भएजस्तो लाग्छ ।
गोपी शर्मा इतिहासले बिर्सेको गुमनाम पात्र पनि हो । तत्कालीन राजनीतिक परिस्थितिमा राजबन्दीहरूलाई भगाउन जेलब्रेक गर्ने योजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका र सोही आरोपमा दोषी करार भई तत्कालीन शासकको बर्बरतापूर्ण यातनाबाट ज्यान गुमाएका गोपी शर्माको सानो तर अति महत्वपूर्ण योगदानलाई इतिहासले बिर्सेको छ । यसरी बिर्सिएका गुमनाम पात्रलाई आख्यानमा उतारेर उपन्यासकार कुइकेलले उनीप्रति सम्मान मात्रै दर्शाएका छैनन्, इतिहासको थप खोजबिन गर्न अरूलाई पनि झकझक्याएका छन् ।
सुनकेशरीलाई पनि परिवर्तनको संवाहकको रूपमा उभ्याइएको छ । सधैँ जातीयताको साँघुरो घेराभित्र सीमित भएर बस्नु हुँदैन । त्यो घेराबाट छलाङ मार्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने अभीष्ट गोपी शर्माको प्रेमलाई स्वीकार्ने सुनकेशरीको निर्णयबाट देखाउन खोजिएको छ । यसैगरी बेखामानलाई उस्तै परिवर्तनप्रतिको आकाङ्क्षीकै रूपमा उभ्याइएको छ । मनमा डर हुँदाहुँदै पनि बिजातीय प्रेमलाई समर्थन गर्ने उसको चरित्रले उसलाई परिवर्तनको आकाङ्क्षीका रूपमा हेर्न सकिन्छ । अर्को पात्र छ प्रकाश, जो राणा परिवारको भएर पनि सामान्य जिन्दगी बिताउने मनसाय बोकेर परिवारबाट बाहिरिएको छ ।
एउटी विधवासँगको प्रेमलाई दरबारले स्वीकारेन । शासकवर्गले स्वीकारेन । आफ्नो प्रेमलाई गुमाउनुपर्दा घरबार नै त्यागेर जोगीको जिन्दगी बिताइरहेको प्रकाशको चरित्रले तत्कालीन शासक र शासनविरुद्ध विद्रोह गरेको देखिन्छ । उसको चरित्र एउटा विद्रोही पात्रको रूपमा देखिन्छ । विधवासँगको प्रेमलाई नस्वीकार्ने दरबार त्याग्ने उसको निर्णयबाट तत्कालीन राणा शासनको निरङ्कुशता र स्वेच्छचारिताको विद्रोह राणा परिवारबाटै भएको देखिन्छ ।
सिङ्गो उपन्यास एक गुमनाम पात्रको कथा हो । बिजातीय विवाह गरेर दोहोरो सजाय भोगेको गोपी शर्मालाई अत्यन्तै महत्व दिएर कथानकलाई अघि बढाइएको छ तर त्यही बिजातीय विवाहसँग जोडिएको उत्तिकै महत्वपूर्ण पात्र सुनमैँचा अर्थात् सुनकेशरीलाई उपन्यासको अन्त्यसम्म सँगसँगै नलैजानु, कथानकको सहायक पात्रमै सीमित राख्नु, उसका बारेमा कुनै खोजीनीति नै नगरी उसलाई उपेक्षा गर्नु र उसलाई गुमनाम राख्नुले ऊप्रति अन्याय भएजस्तो लाग्छ ।
स्थानीय भाषा र लवजको प्रयोग गरिएको छ । यसले उपन्यास पठनलाई मिठासयुक्त बनाएको छ तर प्रयोग गरिएका नेवारी वाक्य त्रुटिपूर्ण छन् । नेपाली उल्थासँग मेल खाँदैनन् । समग्रमा उपन्यास रोचक र पठनीय छ । उत्तरआधुनिक साहित्यका पाठकले त्यति नरुचाए पनि ऐतिहासिक पात्रको जीवन र प्रेमकथामा आधारित यो उपन्यासलाई सामान्य पाठकले अवश्य रुचाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच