सर्लाही । पालिकाले समयमै बजेट निकासा नगर्दा सर्लाहीका केही स्थानीय तहमा पाठ्यपुस्तक वितरण हुन सकेको छैन । भर्खरै बजेट ल्याएका र जनप्रतिनिधिबिच विवाद रहेका यहाँका केही पालिकाले विद्यार्थीलाई समयमै पाठ्यपुस्तक दिन नसकेका हुन् ।
चैत २५ गते मात्रै बजेट पारित गरेको चन्द्रनगर गाउँपालिकामा पनि पाठ्यपुस्तक वितरण र भर्ना अभियान दुवै अनिश्चित बनेको छ ।
चन्द्रनगर गाउँपालिका–३ स्थित श्रीराम जनता निम्न माध्यमिक विद्यालय बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले विद्यालयको खातामा रकम नआएकाले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न नसकेको बताउनु भयो । “पाठ्यपुस्तक वितरण र भर्ना अभियान सञ्चालन गर्न पालिकाको शिक्षा शाखाले कुनै समन्वय गरेको छैन,” नेपाल शिक्षक महासङ्घको गाउँपालिका समितिका अध्यक्ष समेत रहेका सिंहले भने, “विद्यालयको खातामा बजेट नै निकासा नभएकाले अन्यौलमा परेका छौँ ।”
पालिकाले विद्यालयको खातामा रकम पठाइसकेको ठाउँमा भने धमाधम पाठ्यपुस्तक बाँड्ने काम भइरहेको छ । लामो सङ्घर्षपछि गएको फागुन ७ गते चालू आर्थिक वर्षको बजेट पारित गरेको हरिपूर्वा नगरपालिकाले विद्यालयहरुलाई पाठ्यपुस्तक खरिदको रकम निकासा गर्न सकेको छैन् । पालिकाबाट बजेट प्राप्त नभए पनि पुस्तक पसलसँग उद्यारोमा पुस्तक ल्याएर विद्यार्थीलाई बाँड्न सुरु गरेको हरिपूर्वा नगरपालिका–९ स्थित रामजानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष ठाकुरले बताउनु भयो ।“पालिकाबाट बजेट निकासा भएपछि भुक्तानी दिने शर्तमा जलेश्वरदेखि किताब मगाएर बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो “उद्योरामा मगाएकोमध्ये केही पुस्तक अभाव भएको छ ।” प्रधानाध्यापक ठाकुरले पुस्तक अभावकैबिच विद्यार्थी भर्ना अभियान अघि बढाउने तयारी गरिएको बताए । हरिपूर्वाका अधिकांश विद्यालयले बजेट अभावमा पाठ्यपुस्तक बाँड्न सकेका छैनन् । १० दिनअघि चैत २५ गते मात्रै बजेट पारित गरेको चन्द्रनगर गाउँपालिकामा पनि पाठ्यपुस्तक वितरण र भर्ना अभियान दुवै अनिश्चित बनेको छ ।
जिल्लाको धनकौल गाउँपालिकाले पनि पाठ्यपुस्तक खरिदको रकम निकासा नगर्दा पालिकाभित्रका सामुदायिक विद्यालय समस्यामा परेका छन् । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख युक्ति रामले बिचमा केही समय लेखापाल कार्यालयमा नहुँदा पाठ्यपुस्तकको रकम निकासा हुन नसकेको बताउनु भयो । “हाम्रोमा अन्य कुनै समस्या छैन, लेखापाल नहुँदा समस्या भएको हो,” शिक्षा अधिकृत रामले भन्नुभयोे,“ लेखापाल आइसकेकाले अब एक/दुई दिनभित्रमा सबै विद्यालयमा रकम पठाएर पाठ्यपुस्तक बाँड्न सुरु गर्छौँ ।” पालिकाबाट रकम निकासा पाइसकेका विद्यालयले भने धमाधम पाठ्यपुस्तक वितरण गरिरहेका छन् ।
जनक शिक्षा सामग्रीले वितरक हुँदै पुस्तक पसलमा पठाउने पाठ्यपुस्तक विद्यालयहरुले पालिकाबाट बजेट लिएर खरिद गरी विद्यार्थीलाई बाँड्ने प्रावधान छ । तर, जिल्लाका अधिकांश पालिकाले विद्यालयलाई बेलैमा रकम निकासा गर्न बेवास्ता गर्दा विद्यार्थीहरु समयमै पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका हुन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता