भोजपुर । विराटनगरमा रहेको नोवेल मेडिकल कलेज टिचिङ अस्पतालको प्राबिधिक सहयोगमा भोजपुरको उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्धेश्यका साथ बैशाख १३ गते एक दिने स्वास्थ्य शिविर संचालनको तयारी थालिएको हो ।
भौगोलिक र आर्थिक अवस्थाका कारण प्रभावकारी स्वास्थ्य सेवा लिनबाट बञ्चित नागरिकलाई बिभिन्न सेवाहरु आफनै क्षेत्रमा उपलब्ध गराउने गरी शिविर संचालन हुन लागेको छ । महात्मा गान्धी मेमोरियल अस्पताल दिङलामा संचालन हुने स्वास्थ्य शिविरमा बिभिन्न १५ वटा सेवाहरु प्रदान गरिने छ । शिविरमा जेनेरल मेडिसिन, मुटु रोग र इको ( मुटुको विशेष जाँच), फोक्सो रोग, प्रसुति तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नशा, न्युरो सर्जरी, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, आँखा परीक्षण लगायतका सेवाहरु नागरिकलाई प्रदान गरिने छ ।
नेपाली कांग्रेस षडानन्द नगर कार्य समिति दिङलाको आयोजनामा हुन लागेको शिविरमा स्थानीय पालिकाहरु षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाको पनि सहयोग रहने छ । यस भन्दा अगाडी पनि नोवेलको प्राबिधिक सहयोगमा जिल्लाको दक्षिण हतुवागढी र आमचोक गाउँपालिकामा पनि निशुल्क स्वास्थ्य सेवा संचालन भएको थियो ।
शिविर संचालनका लागि पहल गर्नु भएका कांग्रेसका प्रदेश सांसद बिनोद बान्तवाले उत्तरी क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान हुने बताउनुभयो । “प्रभावकारी सेवा पाउनबाट बञ्चित भोजपुरका नागरिकलाई लक्षित गरेर शिविर आयोजना भएको हो, स्वास्थ्यकर्मीबाट सिफारिस भएका विरामीलाई निःशुल्क शल्यक्रियासँगै आवश्यक उपचारको व्यवस्था हुन्छ ।” यस्ता शिविरहरु जिल्लाको अन्य स्थानीय तहहरुमा पनि संचालनका लागि समन्वय गर्दे आएको प्रदेश सांसद बान्तवाको भनाई छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts