भोजपुर । लुटपाटमा संलग्न भएर पक्राउ परेका व्यक्तिबाट भोजपुर प्रहरीले थप २१ राउण्ड बुलेट र थप म्याग्जिन फेला पारेको छ । खोजतलासको क्रममा लुकाएर राखेको अवस्थामा ती सामाग्रीहरु फेला परेको हो ।
लुटपाट गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका वडा नम्वर १ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको थियो । पक्राउ परेका परियारबाट बुधबार फेरि थप २१ राउण्ड बुलेट र थप म्याग्जिन फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठकले जानकारी दिनुभयो ।
परियारले गत वैशाख दुई गते बिहान नौ बजेतिर षडानन्द नगरपालिका वडा नम्बर दुई बस्ने ८५ वर्षीय पासाङ ल्हामु शेर्पालाई नगरपालिकाको वडा नम्वर नौ जुगे जंगलमा पेस्तोल देखाएर सुनका गरगहना तथा नगद लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाटको जानकारी आएसँगै प्रहरीले परिचालन गरेको बिशेष टोलीले षडानन्द नगरपालिका नौ स्थित भुल्के टोलस्थित जंगल जाने मूलबाटोमा परियारलाई भेटेर पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।
सोक्रममा सोधपुछ सहित उनको पछाडी बोकेको झोला हेर्दा पेस्तोल र गरगहना फेला परेको थियो । पक्राउ परेका परियारको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, सानो पेस्तोलमा प्रयोग हुने ११ राउण्ड गोली, नौ हजार ५० रूपैयाँ नगद र सुनका गरगहना बरामद भएको थियो ।






