गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ । गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीसम्बन्धी गुनासो सुन्ने हेल्प डेस्क स्थापना गर्ने निर्देशन गरेको हुँदा यहाँ पनि डेस्क स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।
मिटरब्याजीसम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासो तत्काल सुनुवाइ गर्ने उद्देश्यले प्रशासन कार्यालयमा हेल्प डेस्कको स्थापना गरिएको हो । यहाँ मिटरब्याजीसम्बन्धी गुनासो सुनुवाइ तथा सहजीकरणका लागि प्रशासकीय अधिकृत नारायण घर्तीलाई फोकल अधिकृत तोकिएको उहाँले बताउनुभयो ।
देशभरी अर्थात तराईमा ठूलो संख्यामा मिटरब्याजीहरु देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी गैरेले गुल्मी जिल्ला ठेगाना भएका केहीँ व्यक्तिको नाम मिटरब्याजीको रुपमा काठमाडौंमा दर्तासंगै उनीहरुलाई त्यहीँबाट कारबाही भएको बताउनुभयो ।
यस जिल्लामा हालसम्म औपचारिक रुपमा मिटरब्याजीसम्बन्धी गुनासो नआएको भन्दै उहाँले स्थानीय तह सबैलाई हेल्प डेस्कसम्बन्धी जानकारी गराइएको बताउनुभयो । कतैबाट मिटरब्याजीसम्बन्धी गुनासो आएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रशासनले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता