सिन्धुली । नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा, सिन्धुलीको संस्थागत सक्रियता बढेको छ । कांग्रेस उपसभापति दिपक कुमार घिमिरेको संयोजकत्वमा रहेको प्रशिक्षण शाखा सक्रिय बनेको हो । कांग्रेसको विधानअनुसार पार्टी उपसभापति प्रशिक्षण शाखाको प्रमुख हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुरुप बनेको प्रशिक्षण शाखाले पार्टीको सुदृढ भविष्य र मुलुकको विकासका लागि जिल्लामा विभिन्न गोष्ठी, छलफल, अन्तरक्रिया र प्रशिक्षण कार्यक्रमहरु संचालन गर्न सक्रियता बढाएको छ ।
चैत १७ गतेदेखि जिल्लामा वडा, पालिका तथा प्रदेश क्षेत्रस्तरका प्रशिक्षणहरु संचालन भइरहेको नेपाली कांग्रेस प्रशिक्षण शाखा सिन्धुलीका प्रमुख दिपक कुमार घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिन जिल्लास्तरमा ४२ जना प्रशिक्षकहरु तयार पारेका थियौँ । त्यीनै प्रशिक्षकहरुलाई प्रशिक्षण संचालन गर्न परिचालन गरेका छौँ ।’
शनिबार मरिण गाउँपालिका र गोलञ्जोर गाउँपालिकाका सबै वडाहरुमा भव्य रुपमा प्रशिक्षण भएको छ । जागरुक क्रियाशील सदस्य, नेपाली कांग्रेसको सृदृढ भविष्य भन्ने मुख्य नाराका साथ संचालन भइरहेको प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेसका मुख्य नेताहरुको परिचय, योगदान, कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरु, राष्ट्रियता, लोकतन्त्र र समाजवाद, कांग्रेसको सदस्यता, आचरण, व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायत पार्टीको नीतिबारेमा जानकारी दिइएको छ ।
पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम वैशाखभित्र जिल्लाका ७९ वटै वडाहरुमा सक्ने गरि संचालन भइरहेको कांग्रेस प्रशिक्षण शाखा प्रमुख घिमिरेले बताउनुभयो । यसअवधिमा जिल्लामा नौ हजार क्रियाशील सदस्यहरु प्रशिक्षित हुने छन् । हरिहरपुरगढी गाउँपालिका र फिक्कल गाउँपालिकाका सबै वडामा प्रशिक्षण भइसकेको छ ।
प्रशिक्षण शाखाको सक्रियता बढेपछि कांग्रेसका कार्यकर्ताहरुले खुसी व्यक्त गरेका छन् । कांग्रेसको राजनीतिलाई सशक्त रुपमा अघि बढाउन, कांग्रेसको नीति, कार्यशैली, कामका बारेमा सबै नागरिकलाई बुझाउन सक्ने नेता वृद्धि गर्न प्रशिक्षणले सहयोग पुग्ने नेपाली कांग्रेस मरिण गाउँपालिका–५ की कार्यसमिति सदस्य लिला कट्टुवालले बताउनुभयो ।
वडास्तरमा कांग्रेसको वडा कार्यसमितिको आयोजना तथा नेपाली कांग्रेसको जिल्ला प्रशिक्षण शाखा, सिन्धुलीको समन्वयमा प्रशिक्षण भइरहेको हो ।
यसअघि नेपाली कांग्रेसको जिल्ला प्रशिक्षण शाखा, सिन्धुलीको आयोजनामा जिल्लास्तरमा बिपिको प्रजातान्त्रिक समाजवाद ः अभ्यास, चुनौती र सम्भावनाहरु विषक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts