बागलुङ । एक वर्ष अगाडिदेखि थालिएको बृहत कृष्ण गण्डकी परियोजना तीर्थस्थलको रुपमा विकास गरिएको छ ।
कालीगण्डकीको महिमाको प्रासर गर्दै तीर्थस्थलको रुपमा विकास गर्न थालिएको उक्त पहिरोजनामा हाल सम्म चार करोडको संरचना तयार भएका छन् ।
शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी किनारमा निर्माण थालिएको कृष्णगण्डकी परियोजनाले गण्डकी सभ्यता, शालग्राम संरक्षण र नदीको महत्व दर्शाउने लक्ष्य लिइएको मात्रै नभई एक पवित्र तीर्थ स्थलको रुपमा धार्मिक पर्यटक भित्राउने लक्ष्य लिइएको छ ।
कालीगण्डकी नदीलाई संस्कृति भाषामा कृष्ण गण्डकी भनिन्छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रसार गर्नका लागि कालीगण्डकी नदी किनारमा एक वर्ष अघिमात्रै कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको थियो । कालीगण्डकी नदीमा योग, ध्यान र तपश्या गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको छ । बागलुङ नगरपालिका–१ मालढुंगास्थित खुतुर्केघाटमा निर्माण थालिएको परियोजनाको हालसम्म चार करोड रुपैयाँको संरचना तयार भइसकेको छ ।
सत्संग हल, कालीगण्डकी कटान नियन्त्रण र बस्ती संरक्षण, पैदल मार्गको ढुङ्गा छाप्ने, जग्गा व्यवस्थापन, तारजाली र पर्खाल लगाउने काम भइरहेको छ । सनातन हिन्दु धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी)को प्रसारप्रचार र संरक्षणका लागि बृहत् कृष्णगण्डकी परियोजना निर्माणले तिब्रता पाएको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) का केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिनुभयो ।
“हाम्रो लक्ष्य वृहत छ, गण्डकीको महिमा बुझाउन नदि किनारमै परियोजना सञ्चालनमा ल्याइएको छ, विदेशीहरुले गण्डकीको महिमा बुझिसके हामी अझै नदीलाई दोहन गरिरहेका छौं, पवित्र नदीमा स्नान गर्ने, नदिकै छेउमा बसेर ध्यान तथा योग गर्ने व्यवस्था मिलाउन हामी पूर्वाधार निर्माणको चरणमा छौं” सिंगो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेलाई तीर्थ स्थलका रुपमा विकास गर्ने र यसमा पाइने पवित्र शालग्रामको संरक्षण हाम्रो मुख्य लक्ष्य हो ।”
कालीगण्डकीनदी छेउँमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ एक वर्ष अघि मात्रै मालढुङ्गामा कृष्णगण्डकी परियोजना अगाडी ल्याइएकोमा हाल सम्म रु. चार करोडको संरचना तयार भइसकेको दासले बताउनुभयो । १७ रोपनी जग्गामा बृहत् कृष्णगण्डकी परियोजना निर्माणले गति लिएको परियोजनाको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) बागलुङले जनाएको छ ।
कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकी नदीमा स्नान, ध्यान, योग र तपस्याका लागि बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनका लागि अहिले सत्संग हल, जग्गा व्यवस्थापन, तटबन्धन, पदमार्ग लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ । रु. एक करोड ३५ लाख लागतमा कालीगण्डकीको कटान रोकनका लागि बागलुङको जलस्रोत तथा सिचाई डिभिजन कार्यालयबाट पूर्वाधार निर्माणको कार्य समेत भइरहेको छ । कालीगण्डकीको कटान रोक्दै नदीमा स्नान गर्ने पूर्वाधार निर्माणका लागि गत वर्ष रु. ६५ लाख र चालु आर्थिक वर्षमा ७० लाखको पूर्वाधारको काम भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
आगामी चार वर्षमा परियोजनाको आधारभूत काम सम्पन्न भइसक्नेछ । अहिले ३०० क्षमताको सत्संग हल र आश्रम निर्माण गरिरहेको बताउनुभयो । कालीगण्डकी नदीको महत्व बुझेर देशभर र विदेशबाट आउनुभएका तिर्थालुलाई बस्ने आश्रमले कालीगण्डकीको महिमा प्रसार गर्ने लक्ष्य लिइएको छ ।
परियोजना सम्पन्नका लागि रु. १७ करोड खर्च लाग्ने अनुमान गरिएको छ । परियोजनाभित्रै व्यवस्थित घाट निर्माणको कार्यलाई जोडिएको छ । जीवनलाई खुसी बनाउने, योग ध्यान तथा तपश्या गर्नेदेखि घाट समेत एउटै परियोजना भित्र राखिएको छ । कालीगण्डकी नदीको तीर्थमा आएकाहरुले खाने–बस्ने व्यवस्थापनसहितको आश्रम बनाउन थालिएको हो ।
कालीगण्डकी नदीको दोहनको चपेटामा पर्दा नदीको बहाव परिवर्तन भइरहेको सन्दर्भमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा पूर्वाधार निर्माण गरिरहेको गदाई गौराङ्ग दासले बताउनुभयो । उहाँले पहिलोपटक कालीगण्डकीको महिमाको विषयमा स्वामी पत्रीदासको उपस्थितिमा ‘गण्डकी उत्सव’ कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले गण्डकीको महत्व बुझाउन स्कोन अगाढी बढेको बताउनुभयो ।
परियोजना समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने र मूल तीर्थस्थलका रूपमा सञ्चालनमा ल्याइनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता