खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पाँच शैयाँको आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम उद्घाटन गरिएको छ ।
गाउँपालिकाको डाडाँगाउँस्थित ओख्रेको स्वास्थ्य चौकी भवनमा आईतबार एक कार्यक्रम गरी आधारभूत अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रम एकैसाथ उद्घाटन गरिएको हो ।
संविधानसभा सदस्य हरि रोकाले अस्पताल र ‘हेल्लो डाक्टर’ कार्यक्रमको ब्यानर बाचन र रिबन काटेर उद्घाटन गर्नुभएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगाल, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य केशवराज कार्की लगायतको उपस्थिति थियो ।
आधारभूत अस्पतालमा एकजना मेडिकल अधिकृत डा.मन्दीप उप्रेती, ल्याब असिष्टेन्ट जेनिशा राई र एकजना स्टाफ नर्स कार्यरत हुनुहुन्छ । अस्पतालमा प्रत्येक बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ओपिडी सेवा र २४ सैं घण्टा आकस्मिक सेवा हुनेछ ।
मेडिकल अधिकृत डा.उप्रेतीका अनुसार अस्पतालमा ल्याव सेवा अन्तर्गत रगत, खकार, दिसापिसाब, एचआइभी एड्सको जाँच हुनेछ । गर्भवती महिलाले लिने सेवा सुविधा उपलब्धसँगै मौसमी विरामीहरुको उपचार हुनेछ ।
हालसम्म दिप्रुङको सात वडा स्वास्थ्य चौकीहरुमा ल्याब सेवा थिएन । आधारभूत अस्पताल स्थापनासँगै ल्याब सेवा सुरु भएपछि दिप्रुङका नागरिक जिल्ला अस्पताल दिक्तेल र गाईघाट जानुपर्ने बाध्यता हटेको छ।
आधारभूत अस्पताल ओख्रेमा स्थापना गर्ने अघिल्लो स्थानीय सरकारको कार्यकालमा निर्णय भए पनि कोभिड रोकथाम तथा नियन्त्रण गर्न याम्खा स्वास्थ्य चौकीमा क्वारेन्टाइन बनाउँदा ढिला भएको हो ।
आधारभूत अस्पताल उद्घाटन, कार्यरत एकजना डाक्टर, एकजना ल्याब असिष्टेन्ट, एकजना स्टाफ नर्सलाई चालू आर्थिक वर्षभरी तलब, हेल्लो डाक्टर कार्यक्रमलाई आवश्यक पर्ने मेशिनरी सामान खरीद, औषधि खरीदलाई ३० लाख बजेट छुट्याईएको छ ।
‘हेल्लो डाक्टर’ कार्यक्रम कस्तो हो ? कसरी काम गर्छ ?
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सात वडाका नागरिकहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गरेर आर्थिक वर्ष २०८०/०८१ को भदौ १ गतेबाट सुरु भएको ‘हेल्लो डाक्टर’ कार्यक्रम मूलतः बिरामी जहाँ छन् त्यही स्वास्थ्यकर्मी गएर उपचार गर्ने कार्यक्रम हो ।
स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीका अनुसार गाउँपालिकाले ‘हेल्लो डाक्टर’को हाते ब्रुसर सातै वडाको प्रत्येक नागरिकको घर–घरमा पु-याईएको छ ।
हाते बु्रसरमा स्वास्थ्यकर्मीको नाम, नम्बर र उहाँले काम गर्नुपर्ने भुगोल तोकिएको छ । जो जहाँ विरामी परेका छन् उहाँहरुले ती स्वास्थ्यकर्मीलाई फोन गरेपछि उहाँहरुको घरमै गएर स्वास्थ्यकर्मीले उपचार गरेर फर्कनु हुन्छ ।
बतासे र छोरम्बुका लागि हेल्थ असिष्टेन्ट रमेश कुमार यादव, छितापोखरी र स–छितापोखरीको माथिल्लो भूगागका लागि अहेव गोविन कटुवाल, याम्खा र टेम्माका लागि अहेव कैलाश खत्री, गाउँपालिकाबाट आवश्यकता अनुसार समन्वयका लागि अहेव सुरेश प्रधान र अहेव बलराम मगर ‘हेल्लो डाक्टर’को टिममा राखिएको छ ।
‘हेल्लो डाक्टर’का स्वास्थ्यकर्मीले प्रेसर जाँच, वाफ लगाउने, टाका लगाउने, सलाइन दिने, शरीरमा अक्सिजनको मात्रा हेर्ने यदि अक्सिजन दिनुपर्ने भए दिने, औषधि वितरण गर्ने जस्ता स्वास्थ्य सेवा दिने गर्छन् ।
गत भदौ १ गतेदेखि हालसम्म एक हजार ४२० जनालाई ‘हेल्लो डाक्टर’को स्वास्थ्यकर्मीहरुले घर–घरमै गएर स्वास्थ्य सेवा दिईसकेको अहेव सुरेश प्रधानले बताउनुभयो । अहेव प्रधानका अनुसार गाउँपालिकाभरी आँखाका विरामी धेरै देखिएको छ ।
तत्काल स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर र आकस्मिक स्वास्थ्य समस्या भएमा घरमै आकस्मिक स्वास्थ्य सेवा तथा परामर्श सेवा दिनलाई ‘हेल्लो डाक्टर’ कार्यक्रम गत भदौबाट कार्यान्वयनमा ल्याईएको भए पनि औपचारिक रुपमा बल्ल उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
‘हेल्लो डाक्टर’ले कति विरामीको उपचार गरे, मेशिनरी, औषधि भण्डारण गर्न, बैठक बस्नलाई सहज पुगोस भनेर उदघाटन गरिएको आधारभूत अस्पतालमा डेस्कको लागि व्यवस्था गरिएको छ । ‘हेल्लो डाक्टर’ले घर–घरमा जाँदा उपचार संम्भव नभए उहाँहरुले आधारभूत अस्पतालमा विरामीलाई पठाउनु हुन्छ । आधारभूत अस्पतालमा पनि उपचार संम्भव नभए मात्रै विरामीलाई जिल्ला अस्पताल अथवा बाहिर रिफर गरिनेछ ।' अध्यक्ष राईले भन्नुभयो ।






