इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गरेको छ ।
रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका— ७ चोक बजारमा उम्मेदवारी घोषणा गरेको हो ।
रास्वपाले बिहीबार मात्रै इलाम—२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो त्यस लगत्तै शनिबार इलाममा उम्मेदवारी घोषणा गरेको छ ।
उम्मेदवारी घोषणा सभालाई सभापति तथा उपप्रधानसहित गृहमन्त्री रहनुभएको रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह—प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्की लगायतका नेताले सम्बोधन गर्नुएको थियो ।
सम्बोधन गर्दै सभापति लामिछानेले अब इलाममा समेत घण्टी बजिसकेको उद्घोष गर्नुभयो । उहाँले इलामले पनि परिवर्तनको आवश्यक ठानेकाले रास्वपाको उम्मेदवारलाई इलामेली जनताले जिताउँनेमा आफुहरु ढुक्क रहेको समेत बताउनुभयो ।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।






