काठमाडौं । स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा जारी २५औँ फ्लोरा एक्स्पो २३ हजारले अवलोकन गरेका छन् भने ५० लाखको कारोबार भएको छ । फ्लोेरिकल्चर एसोसिएसन नेपाल(फ्यान)को आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा बिहीबारदेखि सुरु भएको २५औँ फ्लोरा एक्स्पो शुक्रबारसम्म ५० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।
एक्स्पोमा व्यावसायिक स्टल ६०, ल्याण्डस्केपिन स्टल तीन, अफिसियल स्टल आठ, प्रतियोगितात्मक प्रदर्शनी स्टल र फुड स्टलसहित ७३ स्टल रहेका छन् । विगत वर्षमा झैँ यस वर्ष पनि मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाको विभिन्न विधामा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कटफ्लावर (गुलाब, जरबेरा र कार्नेसन) बीच प्रतिस्पर्धा गराइएको छ । मेलाका संयोजक सिताराम पन्तका अनुसार मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाको सहभागिता रहेको छ ।
मौसमी फूल, फूल फुल्ने तथा नफुल्ने आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्पखेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहेका आयोजकले जनाएको छ । मेला चैत ४ गतेसम्म सञ्चालन हुनेछ । कोरोनाकालमा पुष्प व्यवसायको कारोबारको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहेकामा कोरोनापछि खस्किए पनि आर्थिक वर्ष २०७९/०८० पछि भने सुधारोन्मुख अवस्थामा रहेको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभएको छ ।
तामाङका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा फूलको वार्षिक कारोबार दुई अर्ब ४२ करोड थियो भने आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष ०७७/७८ मा कोरोनाका कारण घटेर एक अर्ब ६३ करोडमा खुम्चिन पुग्यो । तर, आर्थिक वर्ष ०७९/०८० मा तीन अर्ब सात करोडभन्दा बढीको कारोबार भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष ०७९/०८० मा करिब ३३.६३ प्रतिशतले कारोबार बढेको तामाङले बताउनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता