काठमाडौं । चलचित्र ‘काँडेतार’ले प्रिमियममा प्रशंसा भएको छ । राष्ट्रवादी धारमा निर्माण गरिएको यो चलचित्रको मंगलबार बेलुकी विश्वज्योति हलमा प्रिमियर गरिएको थियो । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुग्नुभएको थियो । यस्तै, प्रिमियममा हेर्न विभिन्न दलका नेतादेखि चलचित्रकर्मी सिनेमाघर पुगेका थिए ।
नवल खड्काको निर्देशनमा तयार भएको यो चलचित्रले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको चलचित्र हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रूपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।
‘यस्तो चलचित्र अहिले तीन करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म तीन करोड नेपालीले हेर्नुपर्छ,’ चलचित्र हेरेपछि नेता खनालले भन्नुभयो । चलचित्रका निर्देशक तथा कलाकार नवल खड्काले आमनेपालीहरूको भावनालाई समेटेर यो चलचित्र तयार पारिएको बताउनुभयो ।
चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ ।
सामना फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गर्नुभएको हो । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’मा सौरभ लामाको छायांकन छ । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रलाई बन्देप्रसाद र तारा थापा ‘किम्भे’ले सम्पादन गर्नुभएको हो । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता