काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टी उपसभापति धनराज गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । अब कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाउनुभएको थियो । उपसभापति गुरुङले कांग्रेसका मन्त्रीहरूबाट प्रधानमन्त्री प्रचण्डलाई असहयोग नगरेको स्पष्ट पार्दै भन्नुभयो, ‘मन्त्रीका कारणभन्दा पनि राजनीतिक चलखेल र प्रवृत्तिले गर्दा गठबन्धन परिवर्तन भयो । मन्त्री त फेर्न सकिन्थ्यो नि ।’ कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । कांग्रेसले अब प्रतिपक्षमा बस्नेसमेत निर्णय गरेको छ । आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किनुभएको छ ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ । एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । एमाले-माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र २०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको हो । यही सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार एमाले, माओवादी र रास्वपाका एक/एकजना मन्त्री नियुक्त गर्नुभएको छ ।
एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिनुभएको छ । केन्द्र र प्रदेशका नेतृत्वसहित सबै विषय टुंगो लगाएपछि एमाले, रास्वपा र जसपाका वरिष्ठ नेताहरूलाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ । जसपा अध्यक्ष उपेन्द्र यादव आफैँ सरकारमा सहभागी हुन खोजेकाले पहिलो चरणमा कसैलाई मन्त्री तोक्नुभएको छैन । यादवले उपप्रधानसहित परराष्ट्रमन्त्री लिने समझदारी भएको छ । रास्वपा सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गर्दै आउनुभएको छ । तर, सहमति जुटिनसकेकाले उहाँले अहिले उपसभापति अर्याललाई मात्र सरकारमा पठाउनुभएको छ । उपप्रधानसहित गृहमा एमालेको दाबी छ । एमालेको नेतृत्व कसले गर्ने ? भन्ने टुंगो लाग्न सकेको छैन । गृह मन्त्रालयको विषय टुंगो लागेपछि अन्य मन्त्रालयको भागबण्डा टुंगिने नेताहरूको भनाइ छ ।
कांग्रेसले असहयोग गरेर गठबन्धन तोडिएको होइन : महत
नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उहाँले सो प्रतिक्रिया दिनुभएको हो । प्रवक्ता महतले कांग्रेस र कांग्रेसका मन्त्रीहरूले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाइलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताउनुभयो । आफूहरूलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उहाँको बुझाइ थियो । प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशनअनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताउनुभयो । प्रवक्ता महतले सत्तारूढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरू नै केही भएको पनि दोहोर्याउनु भयो ।
गठबन्धन कांग्रेसलाई महँगो भयो : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ताका लागि जे पनि गर्ने पार्टीसँगको गठबन्धन पार्टीका लागि महँगो परेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले कांग्रेससँग सहकार्य तोडेर नयाँ समीकरण बनाएको प्रति लक्षित गर्दै कोइरालाले भन्नुभयो, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, हिजोको घटना सामान्य होइन ।’ माओवादीको नाम नलिई कमजोर, अस्थिर र सत्ताका लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसका लागि महँगो सावित भएको उहाँको भनाइ छ । कोइरालाले भन्नुभयो, ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ ।’
नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको लागि रस्साकस्सी
गृह मन्त्रालय कसलाई दिने ? भन्नेमा नवगठबन्धनभित्र रस्साकस्सी बढेको छ । रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने प्रारम्भिक समझदारी भए पनि अहिले जटिलता देखिएको हो । प्रधानमन्त्री माओवादीले पाएपछि सबैभन्दा महत्वपूर्ण मन्त्रालयका रूपमा रहेको गृह ठूलो दल एमालेको भागमा परेको थियो । तर, रविले विगतमा यही गठबन्धनमा आफूले गृह पाएकाले अहिले पनि पाउनुपर्ने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीले यस विषयमा सहमति गर्ने जिम्मेवारी ओली र लामिछानेलाई नै दिनुभएको थियो । तर, अहिले माओवादीले समेत गृह दाबी गर्न थालेको छ । निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ दोहोरिन दौडधुप गर्नुभएको छ । गृह मन्त्रालयमा आफूले थुप्रै काम गरेको भन्दै श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहनु भएको छ भने एमाले अध्यक्ष ओलीसँग पनि लबिङ गर्नुभएको छ । श्रेष्ठ आफू नभए पनि कुनै हालतमा रविलाई रोक्ने रणनीतिमा हुनुहुन्छ ।
अर्थ मन्त्रालय माओवादीको भागमा परेको थियो । तर, अहिले माओवादीले अर्थभन्दा गृहमा जोड दिन थालेको छ । माओवादीले गृहलाई बटमलाइन नै बनाएको स्रोतको दाबी छ । गृहमा वर्षमान पुनको बलियो सम्भावना छ । पुन यसअघि अर्थमन्त्रीका रूपमा चर्चामा हुनुहुन्थ्यो । तर, अर्थ एमालेलाई दिएर पुनलाई गृहमा पठाउने सम्भावना बढी छ । एमालेले अर्थ पाएमा विष्णु पौडेल लगभग निश्चित नै हो । तर, माओवादीले दाबी गरे पनि रास्वपा गृह मन्त्रालय छोड्ने पक्षमा छैन । रास्वपाले गृहसहित चारवटा मन्त्रालय दाबी गरिरहेको छ ।
गृह र अर्थ आफैँसँग राख्ने प्रधानमन्त्रीको प्रस्ताव
प्रधानमन्त्री प्रचण्डले काम गर्न सहजताको लागि गृह र अर्थ राख्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष यादव सहितका नेतासँग प्रचण्डले सो प्रस्ताव राखेको जानकारी दिँदै माओवादी केन्द्रका एक नेताले भने, ‘पछि जो प्रधानमन्त्री हुन्छ, त्यसबेला पनि गृह र अर्थ उनैले राख्दा काम गर्न सहज हुन्छ । यसलाई अडान र बटमलाइन नै बनाएको होइन व्यावहारिक पाटो सोचिएको हो ।’
गठबन्धन टिकाउन ओलीले व्यवहार सुधार्नुपर्छ : गौतम
राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद भएको बताउनुभएको छ । यसलाई टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने उहाँको भनाइ छ । विगतमा पनि ओलीले अपमान गरेका कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य गरेको दाबी गर्दै गौतमले भन्नुभयो, ‘उहाँले (प्रचण्ड) पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो । संसद्को क्याबिनमा प्रधानमन्त्रीको कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई ऊ पर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरू कोट्याउने, मैले गरेको ठिकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ ।’
औपचारिक प्रस्ताव आए हाम्रो पार्टी सरकारमा जान्छ : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धनबाट औपचारिक प्रस्ताव आए पार्टी सरकारमा सामेल हुनसक्ने बताउनुभएको छ । गठबन्धनले एकीकृत समाजवादीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने उहाँको भनाइ छ । नीतिगत कार्यक्रम, योजना र भिजनमा गठबन्धनले खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नरहेको स्पष्ट पार्दै खनालले भन्नुभयो, ‘हामीसँग पनि वार्ता भयो र एउटा सम्मानजनक ढंगले सहमतिमा जाऔँ भन्ने खालका कुरा आयो भने त्यसलाई हामीले अस्वीकार गर्दैनौँ । यसलाई सकारात्मक ढंगले नै लिन्छाँै । तर, हामीलाई संलग्न गरिदिनोस् भनेर त्यो याचना गर्न जाँदैनौँ ।’
गठबन्धन फेरबदल गर्ने प्रधानमन्त्रीको कदम गलत : जनमोर्चा
राष्ट्रिय जनमोर्चाले गठबन्धन फेरबदल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदम गलत भएको बताएको छ । पूर्व-गठबन्धन विघटन हुँदा प्रतिगमनलाई बल पुग्ने सम्भावना रहेको जनमोर्चाको ठहर छ । अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गरी देशमा बहुदलीय व्यवस्था, गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध खतरा बढ्दै गएको आशंका व्यक्त गर्नुभएको छ । जनमोर्चाले २०६२-६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिको रक्षामा जोड दिने नीति लिएको स्पष्ट पार्दै केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज देशमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षताविरुद्ध खतरा बढ्दै गएको हुनाले २०६२-६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिको रक्षामा हाम्रो जोड हुनेछ । त्यसका साथै देशको राष्ट्रियताको अगाडि पनि गम्भीर रूपले खतरा बढ्दै गएको छ । यी सबै प्रश्नका साथै जनजीविकाको सवालमा हाम्रो पार्टीले दृढतापूर्वक संघर्ष गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts