भोजपुर । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले २०८४ मा केही पनि कायापलट नहुने बताउनु भएको छ ।
उहाँले अन्य दलहरुले ल्याएको मिसन ०८४ मा मुलुकमा केही पनि कायापलट नहुने बताउँदै त्यसले कांग्रेसलाई केही पनि असर नहुने बताउनुभयो । लोकतन्त्रमा चुनाव हुने बताउँदै महामन्त्री शर्माले भन्नुभयो, “कांग्रेसले ०८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित हुन आवश्यक छ ।”
नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्नु हुदै संघीय सांसद समेत रहनु भएका शर्माले राणा शासनको अन्त्य हुँदै मुलुकलाई यहाँसम्म ल्याउने काम नेपाली कांग्रेसको प्रमुख देन भएकाले सवै पक्षलाई गाँसेर समाजमा देखिएको निराशा चिर्दे अगाडी बढनु कांग्रेसको प्रमुख दायित्व भएको बताउनुभयो ।
अरुले के गरे भन्दा पनि संयमता पूर्वक कांग्रेस अगाडी बढन आवश्यक रहेको बताउँदै महामन्त्री शर्माले नयाँ पार्टीहरु प्रति इंकित गर्दे बेण्डबजामा सवैलाई नाचौ नाचौ लाग्ने भए पनि पुरानौ नौमति बाजाको छुट्टे महत्व रहेको बताउनुभयो ।
सिद्धान्त, संघर्ष, सन्तुलन सवै बिषयमा कांग्रेस अगाडी रहेको बताउँदै महामन्त्री शर्माले गरेको काम नागरिकलाई बुझाउन कांग्रेसका नेता कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गर्नुभयो । शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकसम्म सांसद भएको ब्यक्तिलाई पुन सोही पदको अवसर नदिने नीति ल्याउन सकिएमा पद्धतीको बिकास हुने पनि बताउनुभयो । उहाँले काममा ढिलाई हुदाँ मुलुक अगाडी बढेको नदेखिएको बताउँदै नेपाल बन्दैन होइन, बन्छ भन्ने सन्देश दिन नेता कार्यकर्ताहरुसँग आग्रह समेत गर्नुभयो ।






