रुपन्देही । लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्यले लुम्बिनीमा शिखर सम्मेलन गर्न लागेको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनु भएको छ ।
लुम्बिनीमा यही फागुन २८ गतेदेखि हुने शिखर सम्मेलन बारे बुटबलमा पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले लुम्बिनीको प्रचारप्रशार बाहेक अन्य कुनै पनि गलत उद्देश्य नरहेको बताउनु भयो ।
मुख्यमन्त्री चौधरीले लुम्बिनीमा हुने शिखर सम्मेलनबाट कुनैपनि छिमेकी राष्ट्रलाई असर पर्ने गतिविधि हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । ‘हामी पञ्चशिलको सिद्धान्त अनुसार चल्छौं, कुनै पनि छिमेकी राष्ट्रलाई असर गर्ने हाम्रो उद्देश्य होइन,’ मुख्यमन्त्री चौधरीले भन्नु भयो । शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्र्स चौथो शिखर सम्मेलन’ आयोजना गरिएको उहाको भनाई छ ।
लुम्बिनी प्रदेश सरकारको आयोजनामा यही फागुन २८ र २९ गते बुद्धभूमिमा लुम्बिनीमा सम्मेलन हुन लागेको हो । मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पुर्याउने बताउनुभयाे । सम्मेलनबाट लुम्बिनीको गरिमा थप बढ्ने विश्वास लिएको उहाँले बताउनु भयो ।
सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको छ । सम्मेलनमा ३०० जना विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुने छन् । त्यस्तैगरी सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् ।
त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ ।
नोबेल पुरस्कार विजेताहरूलाई पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वगद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लैजाने तयारी छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । १० वटा कार्यपत्र समेत प्रस्तुत हुने सम्मेलन मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ ।
सम्मेलनका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने चौधरीको भनाई छ । सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धनको वातावरण बनाउने विश्वास छ । ‘बालबालिकाको क्षेत्रमा शान्ति सद्भाव र करुणाको सन्देश र लुम्बिनी विकासका लागि विश्वको ध्यान आकर्षित हुनेछ’ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले भन्नु भयो। पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नकुल केसीलगायतको सहभागीता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts