गुल्मी । गुल्मीमा आज (बुधबार) देखि दादुरा-रुबेला खोप अभियान सुरु हुने भएको छ । दुई नगरपालिका र दश गाउँपालिका रहेको यस जिल्लामा नियमित खोपलाई प्रभाव नपर्ने गरि दादुरा-रुबेला राष्ट्रिय खोप अभियान दुई चरणमा हुने भएको हो ।
पहिलो चरण फागुन १६ गतेदेखि २० गतेसम्म यहाँको मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा अभियान सञ्चालन गरिने भएको छ । दोस्रो चरण फागुन २१ देखि २५ गतेसम्म कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकामा दादुरा-रुबेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो ।
नौ महिनादेखि पाँच वर्षमुनिका यस जिल्लाका १७ हजार ५४० जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने छ । नियमित ३३० खोप केन्द्रमा रेसुङ्गा नगरपालिकामा ११ र चन्द्रकोट गाउँपालिकामा एक थप गरी अहिले ३४१ खोप केन्द्रबाट वडा तथा टोलका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मुसिकोट नगरपालिकामा दुई हजार १५८ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने छ । रेसुङ्गा नगरापालिकामा एक हजार ९४४ जना, मदाने गाउँपालिकामा एक हजार ८१४ जना, मालिका गाउँपालिकामा एक हजार ५९७ जना, इस्मा गाउँपालिकामा एक हजार ५५६ जना र धुर्कोट गाउँपालिकामा एक हजार ३५७ जना बालबालिकालाई खोप लगाइने छ ।
त्यस्तै, छत्रकोट गाउँपालिकामा एक हजार ३५५ जना, गुल्मीदरबार गाउँपालिकामा एक हजार २७९ जना, सत्यवति गाउँपालिकामा एक हजार २२४ जना, चन्द्रकोट गाउँपालिकामा एक हजार १९१ जना, रुरुक्षेत्र गाउँपालिकामा एक हजार ३२ जना र कालिगण्डकी गाउँपालिकामा एक हजार ३३ जना बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
खोप अभियानका लागि जिल्लाभर ३३७ स्वास्थ्यकर्मी, ६७४ स्वयंसेवक र १२ जनाले अनुगमन गर्ने चिकित्सकको टोली रहनेछ । यसबाहेक जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरूबाट अभियानको अनुगमन तथा निरीक्षण हुनेछ । अभियान सफल बनाउन स्वास्थ्य कार्यालयले अभियानमा सहभागी हुने पालिका र वडा खोप समन्वय समिति, पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख तथा खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, जिल्लास्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिसकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts