महासमितिमा महिला नीतिमा छलफल हुन सकेन : काँग्रेस नेतृहरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

काठमाडौं । नेपाली काँग्रेसका नेतृहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् ।

शुक्रवार काठमाडौंमा भएको एक भेलामा सहभागी नेतृहरुले महासमितिको बैठकमा महिला केन्द्रित नीतिबारे सामान्य छलफल मात्रै भएको बताए । बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए ।

भेलामा सहभागी नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले वडा तहदेखि पार्टीको केन्द्रिय संरचनासम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेर जान आवश्यक रहेको बताउनु भयो । निर्वाचन प्रणालीको बारेमा भइरहेको बहसमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली हटाउन खोजिए महिला दलित र पछाडि पारिएको क्षेत्र पछाडि नै रहने स्पष्ट पार्नुभयो ।

काँग्रेसका महिला नेतृहरुले महासमितिले स्पष्ट पार्न नसकेको महिला समितिको विषय केन्द्रिय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाउने बताएका छन् । कार्यक्रममा बोल्दै काँग्रेस नेतृ कान्तिका सेजुवालले महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका र पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिए पनि महाधिवेशनमा प्रश्तुत प्रतिवेदनमा महिलाका लागि थप उर्जाशिल हुने कार्यक्रम नीति आउन नसकेको बताउनु भयो । उहाँले सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका, हाम्रो पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिएको छ तर त्यस भन्दा थप उर्जाशिल हुने कार्यक्रम नीति आउन सकेनन् । सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिनेछ ।’

त्यस्तै काँग्रेस नेतृ पुष्पा भुसालले नेपाली काँग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपमाबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताउनु भयो । उहाँले महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने भएपनि हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ । महिला नीति बन्नुपर्छ भन्ने माग राखेका थियौँ । सामाजिक, आर्थिक, राजनीतिक रुपबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्छ । महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने थियो, समावेश भएन ।’

काँग्रेस नेतृ सरस्वती अर्यालले महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच नपुगेको आवाज उठेपनि सम्बोधन नभएको गुनासो गर्नुभयो । उहाँले पार्टीको पदाधिकारीमा महिलाको पहुँच नपुगेको बताउनु भयो । उहाँले महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्ने र महिला महिलाबीचमा लड्ने क्षेत्र तयार गर्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘आवाज त प्रत्येक पटक महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच पुगेन, पार्टीको पदाधिकारीमा महिलाको पहुँच पुगेन । हरेक संरचनामा महिला हुनुपर्छ । महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्छ । महिला महिलाबीचमा लड्ने क्षेत्र तयार हुनुपर्छ ।’

त्यस्तै काँग्रेस नेतृ रंगमति शाहीले काँग्रेसको नेतृत्वमा महिलाको उपस्थिति कम रहेको बताउनु भयो । उहाँले महिलाका अधिकार सुनिश्चित गर्न छुट्टै महिला नीति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको भएपनि नीति बनेर नआएको बताउनु भयो । उाहाँले अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माथिल्लो तहमा महिलाको उपस्थिति रहेन । आवाज नउठेको होइन, महिलाले सशक्त आवाज उठाउनुभएको थियो । वडादेखि काँग्रेस केन्द्रिय तहसम्म प्रमुख पदमा अनिवार्य महिला भनेर जुन आवाज उठाइएको थियो । अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्छ भन्ने माग गरेका छाैं । सशक्त रुपमा आवाज उठेपनि नीति बनेर आएन । सातै प्रदेशमा नेतृत्व पुरुषको छ, त्यसले पनि आवाज कम भयो ।’

काँग्रेस नेतृ विष्णु परियारले महिलाका अधिकारलाई पार्टीले गम्भीर रुपमा लिन जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेस अहिले परिस्थितिले बिग्रिएको टिप्पणी गर्नुभयो । उहाँले मञ्चमा पनि काँग्रेसमा महिलाको उपस्थिति न्युन हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलालाई पार्टीले गम्भीर रुपमा लिएर अगाडि लैजानुपर्छ । काँग्रेस अहिले परिस्थितिले बिग्रियो । मञ्चमा पनि न्युन उपस्थिति महिलाको छ । अहिलेको काँग्रेस सुकिलामुकिला, धनी, धनाढ्यको भयो । महिलालाई जबसम्म अघि ल्याउन सक्दैन तबसम्म सही काँग्रेस बन्न सक्दैन ।’

उहाँले काँग्रेस पार्टी अहिले सुकिलामुकिला, धनी, धनाढ्यको पार्टी बनेको आरोप लगाउनु भयो । उहाँले काँग्रेसले महिलालाई अगाडि नलगेसम्म काँग्रेस सही बन्न नसक्ने जिकिर गर्नुभयो । फागुन १० गते गोदावरीमा सकिएको काँग्रेस महासमिति बैठकमा महिलाका हक, अधिकारबारे आंशिक छलफल भएपनि नीतिमा नसमेटिएकोप्रति काँग्रेस नेतृहरुले असन्तुष्टि व्यक्त गरेका हुन् र उनीहरुले पार्टीको केन्द्रिय कार्यसमितिमा प्रश्तुन हुने प्रतिवेदनले महिलाको अधिकारलाई सशक्त हुनेगरी सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

-न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज