गाउँपालिकाको सार्वजनिक सुनुवाईमा विद्यार्थीको प्रश्न : शैक्षिक भ्रमणलाई बजेट छुट्याएको छ कि छैन ?

चिसाङ शेर्पा खोटाङ, संवाददाता
khotang public hearing pro
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 11 mins

खोटाङ । खोटाङको वराहपोखरी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बालकन्या मावि धर्तुङमा कक्षा १२ मा अध्ययनरत निस्मा राईले हाक्काहाक्की शिक्षा शाखालाई प्रश्न गर्नुभयो ।

प्रत्येक विद्यालयमा गएर विधालयको वातावरण,विधार्थीको शैक्षिक गुणस्तर कहिले अनुगमन गर्नुभएको छ ? शैक्षिक भ्रमणका लागि बजेट छुट्याएको छ कि छैन ? कुनै विद्यालयलाई शैक्षिक भ्रमणमा लगिएको छ कि छैन ? यो कुरा थाहा पाउन चाहान्छु। निस्माको शिक्षा शाखालाई प्रश्न थियो ।
निस्माको प्रश्नपछि गाउँपालिकाका शिक्षा अधिकृत विज्ञान राउत जवाफ दिन माईक्रोफोन लिएर मञ्चमा उभिनुभयाे । उहाँ अध्ययनरत विद्यालयमा अनुगमनका क्रममा दिनमा एकपल्ट पुग्ने गरेको र पालिकाभरीको अन्य विद्यालयहरुको समेत अनुगमन गरिएको राउतले दाबी गर्नुभयो ।
'अन्य विद्यालयहरुको पनि अनुगमन हुने गरेको छ, नभएको हैन तर, तपाईहरुले अपेक्षा गरे अनुसार सम्पूर्ण विद्यालयहरुमा महिनैपिच्छे अनुगमन हुन सकेको छैन। कार्यालयमा शिक्षा सम्बन्धी प्रशासनिक कामहरु हुन्छ त्यो पनि गर्नुपर्छ, विभिन्न तालिम हुन्छन्, विभिन्न रिपोर्टिङ गर्नुपर्ने हुन्छ। कामको लोड अनुसार यता काम पनि गर्नुपर्ने हुन्छ। अनुगमन पनि भएको छ। आगामी दिनमा अझ थप अपेक्षा गरे अनुसार अनुगमन हुनेछ।' राउतले भन्नुभयो ।

'शैक्षिक भ्रमण लगिएको छैन । नलगेको कुरालाई लगेको भन्नु हुदैन। शैक्षिक भ्रमणलाई वजेट विनियोजन भएको छैन, जे कुरालाई पनि बजेट विनियोजन हुनुपर्छ। अनि काम हुने हो। आगामी दिनमा बजेट विनियोजन गरेर शैक्षिक भ्रमणका लागि लाने योजना छ। कार्ययोजना बन्नेछ। गाउँपालिकासँग अनुरोध गर्नेछु। तपाईहरुको अपेक्षा पूरा हुनेछ।' शिक्षा अधिकृत राउतले निस्मासहित उपस्थित सबैलाई आश्वासन दिनुभयो ।

वराहपोखरी गाउँपालिकाको आयोजना तथा रोदिक मिडिया नेटवर्क प्रालिको संयोजन तथा सहजीकरणमा माघ २५ गते गाउँपालिकाको प्राङगणमा आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक सार्वजनिक सुनुवाईमा निस्माजस्तै सहभागीहरुले विकास, सुशासन, पारदर्शिताका विषयमा गाउँपालिका समक्ष हाक्काहाक्की प्रश्न गरेका थिए।

एमालेका नेता गणेश कोईरालाले बराहपोखरीको संरचना निर्माणका क्रममा आएको बजेट, बजेटको श्रोत र खर्च पारदर्शी नभएको प्रश्न उठाउनु भयो । गाउँपालिकाका पूर्वउपाध्यक्ष एवंम् एमाले नेतृ गोमा मगरले गाउँपालिकामा युवालाई विदेश जानबाट रोक्ने योजना र बाँझिदै गएको जग्गालाई उपयोग गर्ने योजना नल्याइएको भन्दै आलोचना गर्नुभयो । ‘वास्तविक कृषक अनुदानबाट बञ्चित छन् । कतिपय विद्यालयमा विद्यार्थी धुलोमा बस्न वाध्य छन् । आस्थाको आधारमा कर्मचारी नियुक्ती र सरुवा गर्ने गरिएको छ,’ ‘धाप्लाङघाटमा वातावरणीय प्रभाव मूल्यांकन नगरी गिटी बालुवा निकाल्ने गरिएको छ । जसका कारण बस्ती जोखिममा पर्ने खतरा बढेको छ । यसतर्फ गाउँपालिकाले के योजना बनाएको छ ?’ मगरको प्रश्न थियो ।

एमाले नेता दीर्घ मगरले १० महिनामा भएको आयव्याय लिखित रुपमा माग गर्दा गाउँपालिकाबाट जवाफ नपाएको बताउनु भयाे । उहाँले एउटै सडकको दुई पटक डिपिआर गरेर बजेट सक्ने काम गरिएको, सामान खरिद प्रकृया वारे बुझ्न खोज्दा जानकारी नपाएको बताउनु भयो । एमालेका गाउँपालिका कमिटि अध्यक्ष देशबिर राईले गाउँपालिकाका सामुदायीक स्कुलमा विषयगत शिक्षकको अभाव भएको, कृषिलाई आधुनिकीकरण गर्ने योजना नबनाइएको, बेरोजगार अन्त्य गर्ने नीति तथा कार्यक्रम नल्याइएको भन्दै प्रश्न गर्नुभयो । शिवकुमार श्रेष्ठले बराहपोखरी आसपासमा वर्षामा पोखरीको पानीको सतहले भेट्नेगरी पैदल मार्ग बनिरहेको भन्दै ध्यानाकर्षण गराउनु भयो ।

ADVERTISEMENT

रास्वपाका नेता राजेश बञ्जराले गाउँपालिकामा सडकमा मात्रै बजेट खन्याइएको भन्दै आलोचना गर्नुभयाे। ‘सडक मात्रै खन्ने हो ? शिक्षा, स्वास्थ्यमा ध्यान दिएको खोई ? कृषकलाई उधमशिल बनाउन के गरियो ? पर्यटन प्रवद्र्धनको काम कहाँ–कहाँ गरियो ? करारको कर्मचारी नियुत्तिलाई आफन्त भर्ती गर्ने केन्द्र बनाइयो । जेसिभि पारदर्शी रुपमा चलाइएन,’ बञ्जाराले प्रश्न गर्नुभयो, ‘पाँच शैयाको अस्पताल निर्माण किन भएन ? निःशुल्क पाइने औषधि स्वास्थ्य संस्थामा छैनन् । तालिमको नाममा लाखौं खर्च भएको छ तर त्यसको उपलब्धि के भयो ? विदेश जानबाट रोक्न के–के गरियो ? बसाई सराई रोक्न के–के गरिए ?’

युवराज थापा मगरले सडक निर्माण गर्ने ठेकेदारले निश्चित अवधिसम्म सडक मर्मत गर्ने नगरेको गुनासो पाेख्नुभयाे । अशोक राउतले राप्चामा पुल र बाटो नपुगेको भन्दै प्रश्न उठाउनु भयाे। शिक्षक अरुणकुमार शर्माले धर्तुङमा ऐतिहासिक दुधपोखरी मासेर स्टेडियम बनाउन थालिएको भन्दै आलोचना गनुभयो । शर्माले आर्थिक वर्ष २०७९÷०८० मा शिक्षामा विनियोजित रकमको आयव्याय बारे प्रश्न उठाउनु भयो । गंगाप्रसाद निरौलाले एक रोपनी जग्गा र सोभन्दा बढी जग्गाको तिरोको रेट एउटै हुँदा किसान मारमा परेकाले पुःनर्विचारको पहल गर्न ध्यानाकर्षण गराउनु भयो । नरमनी बञ्जाराले चिस्यान केन्द्रका लागि बजेट माग गर्दा गाउँपालिकाबाट सुनुवाई नभएको गुनासो गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता भुवन श्रेष्ठले बराहपोखरीको पानी सुक्न नदिन खोलाको पानी हाल्ने र गिटीबालुवा निकालेर विक्री गर्दै आर्थिक श्रोत बनाउन सकिने सुझाव दिनुभयो । एमाले नेता निश्चल खड्काले दैनिक औषधि सेवन गरिरहेका वृद्धवृद्धालाई औषधि किनेर घरैमा लगिदिने व्यवस्था गर्न सझुाव दिनुभयो । खड्काले कोरियान भाषा पढिरहेका युवालाई गाउँपालिकामै पढ्ने वातावरण बनाउन, विदेश जाने युवालाई तालिम दिने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनु भयो । प्रविन राईले बाँदर नियन्त्रण गर्ने योजना ल्याउन सुझाव दिनुभयो । शिक्षिका बिर्सीका राईले महिलाको सामाजिक अवस्था उकास्ने योजना ल्याउन सुझाव दिएकी छन्। शिक्षक महासंघको गाउँपालिका अध्यक्ष विश्वमणी आचार्यले कार्यालय सहयोगीलाई मापदण्ड अनुसार तलवको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।

नागरिकबाट आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिल कुमार अधिकारी, लेखा अधिकृत छत्र बहादुर बानियाँ, छ वडाका वडाध्यक्ष, कृषि शाखा प्रमुख स्कन्द घिमिरे, स्वास्थ्य शाखा प्रमुख इन्दिरा कार्की, शिक्षा शाखा प्रमुख विज्ञान राउत लगायतले जवाफ दिनुभयो ।

गाउँपालिकाले चालू आर्थिक वर्षको छ महिनामा ३५.४७ प्रतिशत खर्च गरेको र ११ लाख ४८ हजार ९०७ रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यक्रमको पहिलो सेशनमा उद्घाटन सत्र र दोश्रो शेसनमा सवालजवाफ भएको थियो। प्रश्न राख्नेहरुमा प्रतिपक्ष बढी देखिएको थियो । सत्तापक्षमा रहेकाहरुले प्रश्नभन्दा सुझाव दिएका थिए । गाउँपालिका अध्यक्ष बन्जारा कांग्रेसबाट र उपाध्यक्ष राई नेकपा एसबाट निर्वाचित जनप्रतिनिधि हुनु हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज