
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सरकारको एक वर्षको कार्यकाल सुखद् रुपमा बितेको मुख्यमन्त्री शाहले बताउनुभयो ।
उहाँले चाहेर पनि जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको कुरा स्वीकार गर्न गाह्रो नभएको बताउनुभयो । सीमित स्रोत साधनको जगमा विभिन्न समस्या र चुनौतीका कारण खरो उत्रिन नसकेको उहाँले बताउनु भयो ।
कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशिलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधनलगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको मुख्यमन्त्रीको स्वीकार गर्नुभयो । यद्यपि, प्रदेश सरकार नीतिगत सुधार, बेरुजु घटाउने गरी वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास लगायतको कार्यमा अगाडि बढेको मुख्यमन्त्रीको भनाइ थियो । उर्जा क्षेत्रमा प्रदेश सरकारको विशेष प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
मुलुक संघीयतामा गएको ८ वर्ष भइसक्दा समेत संविधानले दिएका अधिकार प्रत्योजनमा समस्या रहेकै कारण प्रदेश सरकारले जनताका आवश्यकता, आकांक्षा सम्बोधन गर्न कठिनाइ व्यहोरिरहेको शाहको भनाइ थियो ।
पूर्वाधार विकासतर्फ धनगढीको मुख्य बजारको कैलाली पुलदेखि हुलाकी राजमार्गसम्मको सडक निर्माण अघि बढेको, धनगढीलाई आधुनिक र व्यवस्थित सहर निर्माण गर्ने कामअघि बढाइएको, डडेल्धुरा र बाजुरामा प्रदेश प्रमुख एकीकृत बस्ती विकास कार्यक्रम सुरु गरिएको, स्थानीय तहको पालिका केन्द्रलाई मुख्य राजमार्गसँग जोड्ने सडक १२ महिना सञ्चालन हुने गरी स्तरोन्नतिको काम थालेको सरकारले जनाएको छ ।
यसैगरी, ५२० वटा इन्टेक, ५६३ पानी पोखरी निर्माण, दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेको जनाइएको छ । ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा, १८ हजार ६०० जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध गराइएको छ ।
टी-२० विश्वकप एशिया क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गर्ने सन्दीप जोरासहितका तीन खेलाडीलाई पुरस्कृत गरिएको, एमबीबीएस छात्रवृत्ति, उच्च शिक्षा छात्रवृत्ति, अपांग छात्रवृत्ति, वादी उत्थान छात्रवृत्तिसहित ८५९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको जस्ता कुरालाई पनि प्रगति विवरणमा राखिएको छ ।
एक वर्षको अवधिमा प्रदेश सभाबाट दुई वटा विधेयक पारित भएका छन् । यसैगरी, तीन वटा विधेयक सभामा पेश भएका छन् भने दुई वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको जनाइएको छ । सरकारले यो अवधिमा तीन वटा नियमावली, आठ वटा कार्यविधि र तीन वटा मापदण्ड बनाएको छ ।
चालु आर्थिक वर्षमा बजेट खर्चको प्रगति र राजस्व सङ्कलनको हकमा प्रदेश सरकार ठीक ठाउँमा रहेको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार माघ २६ गतेसम्म चालु खर्च २५.२९ प्रतिशत, पुँजीगत खर्च १४.५६ प्रतिशत गरी कुल खर्च १८.९८ प्रतिशत पुगेको छ । माघ महिनाभित्र बजेट खर्च प्रगति १९ प्रतिशत पुग्न सक्ने मन्त्री शाहीले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले ६४ करोड राजस्व सङ्कलन गरेको छ । गतवर्ष यहि अवधिसम्म प्रदेशमा ५१ करोड रुपियाँ राजस्व संकलन भएको थियो ।
कैलालीको मोहन्याल गाउँपालिका को कार्यालय वर्षको ७/८ महिना मात्रै पूर्व पश्चिम राजमार्ग सँग मोटर बाटो जोड्छ । अनि यो बाटो १२ महिना सञ्चालन मा किन मौन बसेको प्रदेश सरकार ।