केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ ।

वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो बढेको हो ।

उद्योग वाणिज्य सङ्घले कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनका लागि निःशुल्क उपलब्ध गराएको व्यापारिक कक्षमा गाउँपालिकाले बनाएका हस्तकलाका सामग्री प्रदर्शन गरिएको हस्तकला तथा स्थानीय उत्पादन व्यवस्थापन समितिका संयोजक पिताम्बर भुसालले बताउनुभयो ।

स्थानीय उत्पादनको प्रचार-प्रसार, प्रोत्साहन, प्रवर्द्धन तथा व्यापारीकरणका लागि आयोजकले निःशुल्क ३० कक्ष उपलव्ध गराएको हो । “महोत्सवमा हस्तकला, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी र प्रतिस्पर्धाका लागि राखिएको छ”, उहाँले भन्नुभयो, “हस्तकला तथा कृषिजन्य उत्पादनको प्रदर्शनीले मेलामा आउने दर्शकको ध्यान तानेको छ ।”

गाउँपालिकाले त्यसै खेर गइरहेका केराका थामबाट चकटी, गलैँचा, मोडा, चप्पल, सोली, ढकिया, काँचो कपडा, खादालगायत हस्तकलाका सामग्री प्रदर्शनमा राखेको छ । गाउँपालिकाको तर्फबाट कक्षमा रहनुभएकी कृषि प्राविधिक कस्तुरी थापाले महोत्सवमा आउने दर्शकले निकै चासोका साथ सामग्रीको अवलोकन गर्नुका साथै खरिद गरेर लैजाने गरेको बताउनुभयो ।

ADVERTISEMENT

गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारीमा नवप्रवर्द्धन कोषमार्फत गाउँपालिकाभित्रका ३० जनालाई गत वर्ष तालिम दिइएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनुप पौडेलले बताउनुभयो । गत वर्ष ‘केराको बहुउपयोगितासम्बन्धी परियोजना’ मार्फत केराका थामबाट हस्तकलाका सामग्री बनाउन ३० जनालाई ४५ दिने तालिम दिइएको हो ।

“तालिममा सहभागी भएकाहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई प्रचार-प्रसारका लागि महोत्सवस्थलमा राखेका हौँ”, उहाँले भन्नुभयो, “तालिमपश्चात सिकेको सीपलाई व्यावसायिकरूपमा उत्पादन गर्नुभएका व्यक्ति तथा गाउँपालिका आफैँले उत्पादन गरेका सामग्री ‘स्टल’मा राखेका छौँ ।” केराका थामबाट हस्तकलाका सामग्री बनाउने स्थानीय आठ जनालाई गाउँपालिकाले रोजगारी दिएको छ ।

अहिले न्यूनतम मासिक पारिश्रमिक दिएर रोजगारी दिएको र आगामी वर्षमा उत्पादनका आधारमा पारिश्रमिक दिने तयारी गरिरहेको उहाँले बताउनुभयो । “हाम्रा बारी कान्लामा त्यसै खेर गइरहेका केराको थामको प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री बनाउन सकिँदोरहेछ भन्ने देखाउनका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ”, पौडेलले भन्नुभयो, “यहाँ उत्पादन भएका हस्तकलाका सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने छ ।”

गाउँपालिकाले यो अभियानलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको केराका बोट वितरण गरेको छ । गाउँपालिकाभित्र करिब एक लाख बोट केरा रहेका र आगामी दिनमा थप गर्दै जाने उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज