निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण, फेरियो स्थानीयको दैनिकी
Read Time = 9 mins
बागलुङ। निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्नुहुन्थ्यो । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो । तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ ।
पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको दैनिकी नै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने उहाँ दिनमा १०÷१२ पटक खोला वारपार गर्नुहुन्छ । पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उहाँमा अझै छ । तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ । पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उहाँ बताउनुहुन्छ । पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाई दिएको घर्ती मगरले बताउनुभयो । उहाँले विगतको सम्झना गर्दै भन्नुभयो, “हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे ।”
विसं २०७६ पछि निसीखोलामा झन्डै दुई दर्जन झोलुङ्गे पसल निर्माण भएका छन् । जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ । गाउँपालिकाको ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरिरहेको छ । निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गथ्र्यो तर पुल नहुँदा स्थानीयले झन्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए ।
अहिले जोगिथुम्पाका–बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ । पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दङ्ग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताउनुभयो । पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उहाँ बताउनुहुन्छ ।
क्षेत्रीले भन्नुभयो, “लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो, समय–समयमा खोला तर्दा केही ज्यान पनि गुमाएँ तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन, युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो, धेरै समय लाग्थ्यो, तर अहिले समय छोटो समयमै बजार पुगिन्छ, कसैले पनि खोला तर्नु परेको छैन, पहिले धेरै ठाउँमा काठको फड्के हालेर मान्छे खोला वारपार गर्थे, अहिले धेरै ठाउँमा पुल बनेका छन् ।”
चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ छ । सङ्घीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उहाँले बताउनुभयो ।
पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म निर्माण भएका सातवटा झोलुङ्गे पुलको रु एक करोड ७६ लाख भुक्तानी दिन बाँकी रहेको गौतमले बताउनुभयो । सङ्घीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उहाँको भनाइ छ ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुङ्गे पुल बन्न नसकेको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताउनुभयो । नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताउनुभयो । निसीखोलामा स–साना दर्जनौँ खोला रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उहाँको भनाइ छ । पुल निर्माण भएपछि घण्टौँको यात्रा पाँच÷दश मिनेटमै छोटिएको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।
“पाँच वर्ष अगाडिसम्म निसीखोला क्षेत्रमा थोरै मात्र झोलुङ्गे पुल थिए, थोरै पुलमा धेरै जनताले यात्रा गर्नुपर्ने बाध्यता थियो, ठाउँठाउँमा काठका साँघु हालेर खोला वारपार गर्ने गर्थे, त्यसी यात्रा गर्दै धेरैले ज्यानसमेत गुमाएँ,” उहाँले भन्नुभयो, “जब स्थानीय सरकार आयो त्यस यता धेरै पुल बने, अझै बन्ने क्रममा छन्, पुलले नागरिकलाई सहज बनाउने त भयो नै ज्यान पनि बचाउँछ, समय पनि बचाउँछ, आवश्यक पर्ने ठाउँमा पनि क्रमैसँग पुल बन्नेछन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts