म्याग्दीका किसान सुन्तला बगैंचाको गोडमेल र काँटछाँटमा व्यस्त

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीका सुन्तला किसानहरु सुन्तलाको बगैंचा व्यवस्थापनमा लागेका छन् । यस यामको सुन्तला विक्री गरेर सकिएका र हुर्कदै गरेका सुन्तलाका विरुवाहरुको काँटछाट र मलजल गरी बगैँचा व्यवस्थापन गर्न यहाँका कृषकहरु जुटेका हुन् ।

कृषि प्राविधिक सुन्तला बगैंचामा नै पुगेर बगैंचाको व्यवस्थापन गर्न किसानलाई सिकाइरहेको मंगला गाउँपालिकाका कृष प्राविधिक जगत बानियाँले जानकारी दिनुभयो । जिल्लका बेनी नगरपालिका सहित मंगला,मालिका र अन्नपूर्ण गाउँपालिकाका कृषकहरु अहिले सुन्तलाको बगैंचा व्यवस्थापनका लागेका कृषि ज्ञान कार्यालय म्याग्दीले जनाएको छ ।

यसैक्रममा मंगला गाउँपालिकाको चारओटा वडा र लरेनीमा व्यवसायिक सुन्तला कृषकहरुको बगैंचामा नै पुगेर बगैंचा व्यवस्थापन सम्वन्धि तालिम दिइएको कृषि प्राविधिक बानियाँले जानकारी दिनुभयो । उता सुन्तलाको पकेट क्षेत्र मानिएको बेनी नगरपालिकाको वास्कुना र अन्नपूर्णको दोसल्लेका कृषकहरु पनि सुन्तला विक्री गरिसकेपछि अहिले बगैंचा व्यवस्थापनमा व्यस्त छन् ।

“सुन्तला टिपेर सकेका कृषकहरुको बगैंचामा गएर बगैंचा व्यवस्थापनको तालिम दिँदै छौँ,तालिममा बगैंचाको काँटछाँट,मलजल गर्ने तरिकादेखि लिएर बोडोपेष्ट र बोडोमिश्रमण बनाउने तथा लगाउने तरिका सिकाउँछौं” कृषि प्राविधिक बानियाँले भन्नुभयो ।

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । साविकका बोटबाट उत्पादन घटेको भए पनि नयाँ बोटमा फल लागेकोले कृषकको आम्दानीमा भने धेरै फरक नपरको कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएको छ ।

सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले फूल खेल्ने र बतिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको बताउनुभयो । जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ ।

“सुन्तला खेती हुने क्षेत्रफल र उत्पादनयोग्य बोटको सङ्ख्या बढे पनि प्रतिकूल मौसम र रोगकीराका कारण उत्पादकत्व नौ प्रतिशतले घटेको प्रारम्भिक अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो “क्रम कटिङ रिपोर्ट तयार पार्न बाँकी छ । किसनाको भनाइ र स्थलगत अनुगमन गर्दा यसपाली म्याग्दीमा सुन्तला उत्पादन घटेको पाइएको हो ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना सुन्तला जोनका अधिकृत बस्यालका अनुसार उत्पादन थप बढाउने लक्ष्यका साथ परियोजनाले बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो ।

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।

ADVERTISEMENT

यी बगैंचाहरुको व्यवस्थापन र सरसफाइको काम सुरु भएको अधिकृत वस्यालले बताउनुभयो । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारीहरुले किसानका बगैंचामा नै पुगेर सुन्तला खरिद गरेका छन् । यस वर्ष म्याग्दीबाट रु २० करोड बढीको सुन्तला विक्री भएको प्रारम्भिक अनुमान छ ।

प्राविधिकसहितको टोलीले अहिले किसानलाई सुन्तलाको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको सुन्तला जोनका अधिकृत बस्यालले जानकारी दिनुभयो ।प्राविधिकसहितको टोलीले समूह मार्फत सबै किसानलाई जानकारी हुने गरी बगैँचा व्यवस्थापन गर्न सिकाउने छन् ।

यसपछि किसानले आ–आफ्नो बगैँचाको व्यवस्थापन गर्नेछन् । “बगैँचा व्यवस्थापनको मुख्य समय यही हो, नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रुपमा अगाडि बढाएका छौँ”, बस्यालले भन्नुभयो ।

प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि किसानलाई सिकाउने कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

फल दिइरहेको ठूला बोट जसले फल दिइरहेका छन्, त्यस्ता बोट फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने, ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने बानियाँको भनाइ छ ।

जिल्लामा सात सय ६ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । गतवर्ष तीन हजार नौ सय पाँच मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले सुन्तला बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन समेत गर्ने गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?