गुल्मी । गुल्मी कारागारमा रहेका कैदीबन्दीको सीपलाई प्रयोग गरि उद्यमसँग जोड्न थालिएको छ । यस कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुसँग भएको सीपलाई प्रयोग गरि उनीहरुलाई उद्यमसँग जोड्न थालिएको हो ।
यहाँ विगत १८ वर्षदेखि बाँसबाट बनाइने मुढा बुन्ने गरिएकोमा हाल फर्निचरसँगै ढाका उद्योगलाई समेत सञ्चालनमा ल्याइएको छ । गुल्मी कारागारभित्र रहेका कुनै पनि कैदीबन्दीलाई एक अर्कासँग बोल्ने फुर्सदसमेत छैन । सबै जना आ-आफ्नो सीप अनुसारको उद्यममा व्यस्त रहेका छन् । कोही बाँस काटेर चिर्दै छन् । कोही नाईलनको डोरी बुन्दै छन् । नजिकै रहेको अर्को ढाका उद्योगमा तान चल्दै छ भने अर्कोतिर फर्निचर उद्योगको चलाउदै छन् ।
यसभित्रको उत्पादन र कार्य देख्दा त्यो कारागार नभई, विभिन्न उपभोग्य वस्तु उत्पादन गर्ने कारखाना हो भन्ने अनुभूति देखिन्छ । यहाँको कारागार प्रशासन, आन्तरिक प्रशासन प्रमुख चौकीदार र व्यवस्थापकले पनि कारागारलाई कारखानाकै रुपमा विकास गर्न लागि परेका छन् । यहाँ उत्पादित मुढा, ढाका र फर्निचरबाट मासिक सरदर ६० देखि ८० लाख रुपियाँसम्मको कारोबार हुने गरेको गुल्मी कारागारका आन्तरिक प्रशासन प्रमुख चौकीदारले बताउनुभयो ।
सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको त्रिकोणात्मक सम्बन्धका कारण कैदीबन्दी तथा थुनुवाहरुलाई कारागारभित्रै सीप अनुसारको उद्यमसँग जोड्न सकिएको गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले बताउनुभयो । हरेक महिना प्रतिव्यक्ति कालिगढहरुले मासिक १५ हजार रुपियाँसम्म र सहायकहरुले मासिक आठ हजार देखि १२ हजार रुपियाँसम्म बुझ्ने गरेको उल्लेख गर्दै यो सबल पक्ष भएको उहाँले बताउनुभयो ।
यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको यस कारागारमा ११८ जना कैदीबन्दी रहेका जेलर पन्थीले बताउनुभयो । अशक्त र बिरामी कैदीबन्दी बाहेक अरु खाली नबस्ने भन्दै अरु कैदीबन्दीले निरन्तर आफुले जानेको सीपलाई प्रयोग गरिरहेको बताउनुभयो ।
बाहिरी कम्पाउण्ड नहुनु, भित्रीको कम्पाउण्ड पनि सानो भएका कारण सहज रुपमा उद्योग सञ्चालन गर्न नपाउनु नै मुख्य समस्या भएको जेलर पन्थीले बताउनुभयो । कैदीबन्दीको संख्या अनुसार खानेपानीको पनि त्यतिकै समस्या रहेको उहाँले उल्लेख गर्नुभयो ।
घरेलु कार्यालयमा यहाँको सीप अनुसारको साना उद्योग दर्ता गरी उद्योग नै सञ्चालन गर्न सकिए अहिलेको अवधारणा नेपाल कारागार ऐन २०७९ अनुसार खुल्ला कारागारकै रुपमा व्यवस्थित गर्न सजिलो हुने भन्दै जेलर पन्थीले सीपमूलक कार्यक्रम सञ्चालन गरेर व्यक्तिलाई व्यस्त राख्न सकिए अपराध घट्दै जानेसमेत बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts