काठमाडौं । ठेगाना प्रणालीलाई व्यवस्थित गर्न कता हो नामक डिजिटल ठेगाना प्लेट प्रणालीको विकास भएको छ । नवप्रवर्तन क्षेत्रमा काम गर्दै आएको युवा वैज्ञानिक रामलक्ष्मण ग्रुपले उक्त प्रणाली विकास गरेको हो । सोही ग्रुपअन्तर्गतको एड्रेसग्राफ नेपाल प्रालिले उक्त प्लेटफर्मको औपचारिक सुरुवात क्यान इन्फोटेक २०२४ को पहिलो दिन २५ माघमा गर्ने भएको छ ।
कम्पनीका अनुसार उक्त प्रणालीमार्फत् केही छिनमै नेपालका हरेक घरले घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । जसका लागि देशको सम्पूर्ण भूभागलाई करिब १५ अर्ब दुई करोड प्लट (टुक्रा)मा विभाजन गरी हरेक टुक्राका लागि नेपाली शब्द र अंक मिलाएर एउटा भिन्न नाम दिइएको छ । त्यसरी तयार हुने नाम नदोहोरिने, बरु सम्झिन र अरूलाई भन्न सजिलो हुने बताइएको छ । कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने ‘कता हो’ ग्रिडमा आधारित ठेगाना प्रणाली हो, यो प्रणाली पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणालीको सफ्टवेयर तथा एप्लिकेसन हो ।’ आफ्नो ठेगाना बनाउन र पत्ता लगाउन यस्तो प्रणालीले अफलाइनमा समेत काम गर्न सक्नेछ । प्लेटफर्मबाट जोसुकैले आफ्नो घरको ठेगाना प्लेट बनाउन तथा बनाएर टाँस्न पनि सक्नेछन् ।
कम्पनीका अनुसार शहरी विकास मन्त्रालय तथा टोल विकास समितिबाट राखिएका घरका नम्बरसमेत यस्तो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिनेछ । चार वर्षको अनुसन्धानपछि विकास भएको ‘कता हो’ मोबाइल एप तथा वेबबाट चलाउन सकिने बताइएको छ । यस्तो प्रणाली व्यक्ति, उद्यमी, डेलिभर कम्पनी, राइड सेयरिङ कम्पनी, आपत्कालीन सेवा, सरकारी निकायलगायत धेरैलाई उपयोगी हुने पनि कम्पनीको दाबी छ ।
बोलेर अरूसँग स्थान सेयर गर्न सकिने, आपत्कालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने, घरका साथै देशका जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने, ठेगाना पाटी (एड्रेस प्लेट)मा अंग्रेजी अक्षरसमेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने, स्थानीय तहले सजिलो र छिटोछरितोरूपमा आफ्नो क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सक्ने, सार्वजनिक सम्पत्ति, सम्पदाजस्ता संरक्षण क्षेत्र छुट्याई अभिलेख राख्न सकिने, जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने, सरकारी तथा सबै प्रकारका ‘केवाइसी’ फारममा उल्लेख गर्न सकिने ठेगाना कोड तयार हुने भएकाले खर्च र समय दुुवै बचत हुने कम्पनीको भनाइ छ ।







Breaking news with related posts