मुगु । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिएर मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ ।
जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिए पछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युतिय भोल्टेज अनियमित भई बिग्रेको र करिव २ लाख ५० हजार जति रकम मर्मतमा खर्च लाग्ने र अस्पतालले रकम ब्यावस्थापन गर्न सक्ने भए पनि विद्युतिय भोल्टेजको कारण फेरि एक्सरे मेसिन बिग्रने भयले मर्मत कार्य हुन नसक्दा समान्य चोटपटकलगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला पुग्नु पर्ने बाध्यता रहेको छ।
जिल्लाका दुरदराज बाट उपचारको लागि जिल्ला अस्पताल ठिनी आउने बिरामी एक्सरे मेसिन अभावले अन्यौलमा पर्ने गरेका छन ।
अस्पतालमा एक महिना देखि बिग्रिएको एक्सरे मेसिन मर्मत कार्यको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यलयका निमित्त स्वास्थ्य सेवा ब्यावस्थापक डाक्टर कमल ढुंगानाको भनाई छ ।
उहाँका अनुसार मुगुको विद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरणहरू बिग्रिएर थन्क्याइएकाे छ । एक्सरे मेसिन पनि यसरी विद्युत भोल्टेज स्थिर नभयर नै बिग्रियको ढुङ्गानाले बताउनु भयो । लाखौ रूपयाँ खर्च गरेर एक्सरे मेसिन बनायो फेरि विद्युतको कारणले बिग्रिहाल्छ । केही दिन पछि अस्पताल हाता भित्र विद्युतिय ट्रान्सफर्मर जडान गर्ने र मेसिन चलाउन सक्ने विद्युतको भोल्टेज पुगेपछि एक्सरे मर्मत गरि सुचारू गरिने पनि निमित्त स्वास्थ्य प्रमुख ढुङ्गानाले बताउनुभयो । मेसिन चलाउन २ सय २० भोल्ट विद्युतको आवश्यकता पर्ने गरेको र हालको विद्युतको भोल्टेज अपुग छ । विद्युतिय भोल्टेज बढाउने ट्रान्सफर्मर खरिदको प्रकृया पूरा भएपछि एक्सरे सुचारू हुने स्वास्थ्य ब्वस्थापक डाक्टर ढुङ्गानाले बताउनु भयो ।
जिल्ला अस्पताल ठिनी बाहेक एक्सरेको कुनै बिकल्प मुगु जिल्लामा नभए पछि मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरि न्यूनतम ७ हजार भन्दा बढी रकम लाग्ने गरेको छ । २०६३ सालमा जिल्लाका साबिकका गम, सोरू, खतेड र करान भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १५ शैयाको अस्पताल संन्चालनमा आएको थियो ।
उक्त जिल्ला अस्पताल बिरामीको लागि अँझै ब्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालको आवश्यक उपकरणहरूसहित भौतिक पूर्वाधार निर्माण गरि दिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव फार्मेसी सेवा संचालन र रक्तसंचार केन्द्र, नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।






