काठमाडौं । खोटाङका ३१ वर्षीय सुमन राईलाई गत असोजमा एउटा प्रस्ताव आयो, ‘रुसी सेनामा जाने हो ? आठ लाख खर्च लाग्छ । तलब महिनाको दुई लाख ६५ हजार ।’ मलेसियाकै लागि बुझ्न काठमाडौं आएका बेला सुकेधारामा एउटा मेनपावर व्यवसायीले यस्तो आकर्षक प्रस्ताव गरेका थिए । मलेसिया जाने तयारीमा रहनुभएका उहाँको मन मोडियो । रुस-युक्रेन युद्धबारे जानकारी नभएका उहाँलाई लाग्यो, ‘आठ लाख त तीन/चार महिनामै असुल हुन्छ ।’ उहाँ रुस जान तयार हुनुभयो ।
उहाँलाई भिजिट भिसामा दुबई पु¥याइयो । शुक्रबार पत्रकार सम्मेलनमा राईले दिएको जानकारीअनुसार भिसाको म्याद ३० दिन थियो । त्यहाँबाट उहाँ मस्कट पुग्नुभयो । मस्कट पुगेको भोलिपल्ट उहाँ आफूलाई रुसी सेनामा भर्ना गराउन लगिएको उहाँले बताउनुभयो । ‘मलाई युद्धबारे केही थाहा थिएन । केही समय तालिम दियो,’ उहाँले भन्नुभयो, ‘तालिममा हतियार कसरी चलाउने विषयमा जानकारी दिन्थे । केही दिनको तालिमपछि ड्युटीमा खटाइयो । अनि बल्ल युक्रेनी सीमा क्षेत्रमा लडाइँका लागि जानुपर्ने रहेछ भन्ने बुझेँ ।’
उहाँ ड्युटीमा खटिएको केही दिनमै एक नेपाली मरेको दुःखद खबर सुनियो । ‘सँगैको साथी बितेको खबर सुन्दा साह्रै डर लाग्यो,’ उहाँले भन्नुभयो । त्यसपछि उहाँले जसरी हुन्छ नेपाल फर्किने योजना बनाउनुभयो । रुस जान मात्रै होइन फर्किन पनि फेरि पैसा चाहियो । सेटिङ मिलाएर उहाँले एउटा दलाललाई तीन लाख रुपैयाँ दिनुभयो । जाँदा ऋण काढेर आठ लाख र भागेर आउँदा तीन लाख तिरेको उहाँले बताउनुभयो । ‘तीन लाख तिरेपछि मलाई भगाउन तयार भयो । जीवनभन्दा ठूलो केही छैन भन्ने बुझेपछि पैसा तिर्न तयार भएँ,’ उहाँले भन्नुभयो, ‘यहाँ सबै सेटिङमै हुने रहेछ । लैजाने मात्र हैन, भगाउने काम पनि सेटिङमै हुने रहेछ ।’ तीन लाख तिरेपछि एजेन्टले उहाँलाई दुबई हुँदै नेपाल फर्काइदियो । पैसा फसे पनि आफू बाँचेर फर्केकोमा सुमनले मन बुझाउनुभएको छ । ‘त्यहाँ पुगेपछि बाँचेर फर्कन्छु भन्ने लागेको थिएन,’ उहाँले भन्नुभयो, ‘पैसा फसे पनि बाँचेर फर्किन त पाएँ । यो मेरो नयाँ जीवन हो ।’
उहाँसँगै अरू तीन नेपाली पनि थिए । उहाँहरू रातारात भागेर नेपाल आउन सफल हुनुभयो । रुसी फौजबाट भागेर उहाँ दुई महिना अगाडि नेपाल पुग्नुभयो । आफू एक महिना १८ दिन काम गरेर नेपाल फर्केको उहाँले बताउनुभयो ।
हजारौँ नेपाली भर्ना, छैन कसैको यकिन विवरण
राईले रुसी सेनामा हजारौँ नेपाली भर्ना भएको बताउनुभयो । दुबईमा काम गरिरहेकाहरू पनि काम छोडेर रुस पुग्ने गरेको उहाँले सुनाउनुभयो । नेपालीहरू सिधै नेपालबाट भन्दा पनि दुबई, कतारबाट बढी जाने गरेको उहाँको अनुमान छ । ‘दुबईमा रोयल गार्डको जागिर गरिरहेको एकजना दाइलाई पनि रुसमा भेटेको थिएँ, किन आउनुभएको ? भनेर सोध्दा रुसको पिआर पाइन्छ भनेर आएको भन्ने जवाफ दिनुभयो,’ राईले भन्नुभयो ।
रुसी सेनामा नेपालीसँगै भारतीय, चाइनिज, मंगोलियन नागरिकसमेत रहेको उहाँले बताउनुभयो । अन्य देशका नागरिक थोरै संख्यामा रहे पनि नेपालीहरू भने धेरै रहेको उहाँको दाबी छ । ‘हामी धेरै थियौँ । ठ्याक्कै यति नै भन्न सकिँदैन । त्यस्तै, सात/आठ सय जना जति थियौँ होला । सामान्य तालिम दिएर युद्धमा पठाउँछ । मरेपछि कसैलाई पनि जानकारी दिँदैन,’ उहाँले भन्नुभयो, ‘नेपाली मरे छोडेर रुसीहरू गाडी लिएर जान्छन् । कुनै नेपालीले युद्धमा जाँदिनँ, नेपाल फर्किन चाहन्छु भनेको खण्डमा उनीहरूको पासपोर्ट राखिदिने र युक्रेनतिर पठाउने रहेछन् । तर, नेपाल पठाउँदैनन् ।’
युक्रेनको भूमिमा हुने युद्धमा गएपछि फर्कन मुश्किल जस्तै हुन्छ । ‘युक्रेनी सेना पहिले नै तयारी अवस्थामा लुकेर बसेका हुन्छन् । उनीहरू निशाना लगाएर ड्रोनबाट आक्रमण गर्छन् । त्यस्तोमा मर्नबाहेक केही गर्न सकिँंदैन,’ सुमनले भन्नुभयो, ‘धेरै नेपाली भाषा नबुझेरै मर्छन् । युद्ध मैदानमा रुसी भाषामा कमाण्ड दिइरहेको हुन्छ । तर, भाषा नबुझेर नेपालीहरू लुक्न, भाग्न सक्दैनन् । त्यही कारण नेपालीहरू आक्रमणमा पर्छन् । यस्तोमा बाँच्ने मौका शून्य जस्तै हुन्छ ।’
रुसी सेनामा भर्ना भएका धेरै नेपालीको मृत्यु भइसकेको हुनसक्ने उहाँको अनुमान छ । युद्धमा खटाउँदा कसैलाई फोन सुविधा नदिइने राईले बताउनुभयो । ‘कमाण्डरले कतिपयको त कानको जाली फुट्ने गरी हान्दो रहेछ । तालिममा पेलाउने, खाना नदिने, सजाय दिनेजस्ता काम धेरै गर्छन् । कमाण्डरले भनेको मानेन भने कडा सजाय दिन्छन्,’ उहाँले भन्नुभयो ।
आफन्तको आग्रह : स्वदेश फर्काउन पहल गरिदिनुस्
रुसी सेनामा भर्ती भएकाका आफन्तले नेपालीलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीलाई अहिले धेरै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । सरकारले उनीहरूलाई नेपाल फर्काउने व्यवस्था चाँडो गर्न उनीहरूको आग्रह छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तले छिटोभन्दा छिटो उनीहरूलाई सरकारका तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरेका छन् ।
मानवतस्करी रोक्न श्रममन्त्रीको ध्यानाकर्षण
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरू गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीको ध्यानाकर्षण गराएको बिहीबार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जानेक्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले विगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाई निर्वाध रूपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको छ ।
संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दूतावासलाई दिई मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा स्थायी रूपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरूको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टीमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरूलाई रोक्ने, श्रम स्वीकृति नगर्ने जस्ता घटनाहरू भइरहेको प्रति समेत संघले ध्यान आकर्षण गराएको छ । भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु
लेबनानमा एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाको लागि युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युएनआइएफआइएल)मा कार्यरत दोलखा घर भएका नेपाली सेनाका सिपाही सुवास थापाको माघ १८ गते निधन भएको हो । उहाँ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ ड्राफमा कार्यरत हुनुहुन्थ्यो । उहाँ गोरख गणको बंकरमा ड्युटीमा तैनाथ रहेकै बेला आफैँले बोकेको हतियारको गोली लागेर घाइते अवस्थामा भेटिनुभएको थियो । घाइते थापाको उपचारको क्रममा निधन भएको जंगी अड्डाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सेनाले घटना कसरी भएको भन्नेबारे अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । थापाको शव नेपाल ल्याउन समन्वय भइरहेको पनि सेनाले जनाएको छ । सेनाका अनुसार हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा