गाउँमा सडक पुगेपछि मासिए पुराना सम्पदा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । उक्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गाहरु । वरिपरि सिस्नो र बनमाराको जंगल । लेउलागेको कुवा भरी पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो कालिज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।

गाउँ गाउँमा सडक संजालको पहुँच पुगेपछि जिल्लाका प्रायः सबैठाउँका पुराना गोरेटो बाटो र विसाउने चौतारीहरुको अवस्था यस्तै छ । सडकका कारण गाउँ पुग्ने गोरेटा बाटाहरु नासिएका छन् । मानिसहरु सडकबाट नै आवतजावत गर्न थालेपछि मर्मत सम्भारको अभावमा गाउँ पुग्ने गोरेटाहरु भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसानै मेटिएको छ ।

“गोरेटो बाटोको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि यात्रुहरुले थकाइ मेटाउने चौतारीहरु,विसाउनीहरु नसिएका छन् ।कुवा,धारो र पधेराहरु देखिन छोडेका छन्” खबराका ६३ वर्षिय यामबहादुर घिमिरेले भन्नुभयो “बनजंगल पनि उराठिला बनेका छन्् । मानिस जंगलमा आउन छोडेपछि जंगल त घना भएको छ । तर,घाँस दाउरा,स्याउला,पर्सेउला लिन अब कोही पनि जंगलमा नआउँदा जंगलको बाटो हिड्न पनि उराठ लाग्दो छ ।”

गोरेटो बाटो नासिदै गएपछि गाउँको सुन्दरता र आत्मीयता पनि कम हुँदै गएको आफुलाई अनुभव भएको खबराका चन्द्रबहादुर कार्कीले बताउनुभयो । “डिम्मराको उकालो उक्लेर गौडालाउनेको चौतारीमा पुगेपछि आँत हरर्र हुन्थ्यो । यहाँको सितल हावा र चिसो पानीले बेनीदेखि उकालो बाटो हिडेंर गौडालाउनीसम्म आइपुग्दाको दुःख विर्साउदथ्यो” उहाँले भन्नुभयो “बाटो हिडेर घरमा आउजाउ गर्दा,बाटोमा भेटिएका दौतरीहरुसँग दुःखसुखको कुरा गर्दै हिड्दा,अनि साँझमा घर आएर महीसँग मकै चपाउँदाको आनन्द अब कहाँपाउनु ?”

गाउँ गाउँमा पुगेका सडकका कारण गाउँलेलाई सुविधा र सास्ती दुवै मिलेको बताउनुहुन्छ मालिका गाउँपालिका वडा नं २ का टेकबहादुर विक । “वस्ती वस्तीमा गाडी आउँछ,दरबाङ,बेनी जहाँबाट मगायो त्यहीँबाट सामान घरको आँगनमा नै ल्याइपु-याइदिन्छ । बिरामी हुँदा अस्पताल गाडी चढेर नै जान पाइन्छ यो त राम्रो हो” विकले भन्नुभयो “तर,वर्षामा न गाडी आउँछ न माटो बग्न रोक्निछ । पहिरोले उठिवास लगाउने डर छ ।”
वातावरणीय मूल्याङ्कन नगरीकन जथाभावि खनिएका ग्रामीण सडकले गाउँको सौन्दर्य त नास भएको छ नै,भूस्खलन र बाढी पहिरोको जोखिम पनि बढाएको छ । भिरालो भूगोलमा वस्ती भएका गाउँहरु थप जोखिममा परेका छन् । ती गाउँहरुसम्म जाने कोरोटो बाटो नासिए पछि गाउँलेहरु घुमाउरो बाटो प्रयोग गरेर गाउँसम्म पुग्नुपर्ने वाध्यता छ । “सडक खन्दा घुमाउरो (नागबेली) पारेर खन्छन्,गाउँका खोल्सा खाल्सी,सत्तल,पाटी,चौतारो,कुवा,गोरेटो केही पनि बचेनन्”धौलागिरि गाउँपालिका ५ मल्काबाङका कर्म छन्त्यालले भन्नुभयो “गाडी चढेर गाउँमा नौला मान्छे आउँछन्,सहर बजार झरेका आफन्तलाई भेट्न चाडपर्व नै कुर्नुपर्दछ ।”

सडकले गोरेटो बाटो मासेपछि वस्ती पनि टाढा टाढा जस्ता भएका छन् । पहिला छोंटो गोरेटो बाटो प्रयोग गरेर एक गाउँदेखि अर्को गाउँमा पुग्न सकिन्थ्यो तर अब गोरेटो बाटो नै नरहेपछि सडकहुँदै जाँदा घुमाउरो हुन्छ । चाहेको बेलामा छिमेकीकहाँ पुग्न पनि नसकिने अवस्था आएको छन्त्यालले बताउनुभयो ।

ADVERTISEMENT

सडकले गोरेटो बाटो मात्रै मासेको होइन,ग्रामीण पहिचान बोकेका अनेकौं सम्पदाहरु पनि नासिएका खबराका चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

कार्कीले बेनी ज्यामरुककोटको गोरेटो बाटो नासिए पछि राजा भर्तिवम मल्लका अङ्गरक्षकहरूले हातहतियार उधाउने बञ्चरेढुङ्गा अस्तित्वविहीन भएको बताउनुभयो । भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकामा स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिएको भए पनि त्यो प्रयास पर्याप्त नभएको उहाँको भनाइरहेको छ ।

त्यसैगरी, राजा र उनका मान्छेहरु सिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा आफ्नो निरीह अस्तित्व प्रदर्शन गरिरहेको भए पनि त्यो चौतारो मर्मत गर्नेतर्फ कसैको ध्यान जान नसकेको स्थानीय बूढापाकाहरुको भनाइ छ । “नासिएर गएका सम्पदाहरुलाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदाहरुको पनि संरक्षण हुन नसक्नु ज्यादै दुःखद कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्ने छ”, स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीले भन्नुभयो ।

गोरेटो बाटो (पदमार्ग) मासिए पछि म्याग्दीका घोडेपानी पुनहिल जस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या पनि घट्दै गएको र उनीहरुको बसाइ पनि कम हुँदै गएको पाइएको छ । पर्यटकहरु घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको घोडेपानीका पर्यटन व्यवसायी क्या.डमबहादुर पुनले बताउनुभयो । “पर्यटकहरु यहाँ गाडी चढ्न र पिज्जा,वर्गर खान आउने होइनन्,रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडकले सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन,” उहाँले भन्नुभयो ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ ओटा स्थानीय तहरहेको म्याग्दीमा ४५ ओटा वडाहरु छन् । ती वडाहरुमध्ये धवलागिरि गाउँपालिका वडा नं १ गुर्जा बाहेक अरु सबै वडाका वस्तीहरुमा सडक पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?