भोजपुर (बिराटनगर)। विराटनगरमा सुकुम्बासीको घर निर्माणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गर्नु भएको छ ।
मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर– १६ दरैयाका सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गर्नु भएको हो ।
आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो । राईका लागि शुक्रबार सांसद मण्डलको पहलमा जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको छ । घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो । घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराउनु भएको थियो ।
जाडो मौसममा पाँच जनाको परिवार कष्टकररुपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलको भनाई रहेको छ । ‘यहाँ आएर हेर्दा अवस्था दयनिय थियो, १० दिनअघि डस्ना र सिरक उपलब्ध गराइएको थियो,’ मण्डलले भन्नुभयो, ‘विभिन्न क्षेत्रको समन्वयमा आज श्रमदान गरेर अस्थायी घर निर्माण गरेका छौं ।’ श्रमदानको अभियान निरन्तर चल्ने छ ।
मुख्यमन्त्री कार्कीले गरीब, दलित, सुकुम्वासीको साथमा सरकार छ भन्ने सन्देश दिनका लागि घर निर्माणमा श्रमदान गरेको बताउनुभयो । विपन्नलाई सरकारको अनुभूति गराउने गरी काम गरिरहेको कार्कीको धारणा छ । ‘निर्वाचनका बेलामा गरेको बाचा पूरा गर्न श्रमदान गरिरहेको छु,’ कार्कीले भन्नुभयो, ‘गरीबका दुःख समाजका सबैले बुझेर एक अर्कालाई सहयोगको भावना विकास गराउनुपर्छ ।’ घर निर्माणमा मुख्यमन्त्री कार्की, सांसद मण्डलसँगै जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल लगायतले पनि श्रमदान गर्नु भएको थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts