गुल्मी । अधिकार क्षेत्र भन्दा बाहिर गएर काम गरेको भन्दै गुल्मीको तम्घासमा रहेको आयुर्वेद पसल सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-८ मा सञ्चालनमा रहेको सम्पन्न आयुर्वेदिक र सफल होमियोप्याथिक आयुर्वेदिक औषधी पसल सिल गरेको हो ।
अधिकार क्षेत्रभन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद पसल सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद पसलको अनुगमन गरेको हो ।
अनुगमन गर्दा आयुर्वेदिक औषधीको खुद्रा विक्री-वितरणको अनुमति मात्र लिई मापदण्ड विपरित फिजियोथेरापी मेसिन, भिडियो एक्सरे मेसिन, नेबुलाईजर सेवा, बिरामी भर्ना गरी स्लाईन चढाउने, एलोपेथिक औषधी समेत बिक्री वितरण गरेको पाईएकोले सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
अनुगमनमा आयुर्वेद पसलले आठ कोठामा औषधी, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको भेटिएको थियो । रेसुङ्गा नगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबरमा, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद पसल सिल गरेका हुन् । आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिरहेको छ ।
प्रजिअ शर्माले जनगुनासो आएपछि आयुर्वेद बन्द गरेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा अधिकार क्षेत्रभन्दा बाहिर रहेर सञ्चालन गरेको पाइएको उहाँले बताउनुभयो ।
अधिकार क्षेत्रभन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको प्रजिअ शर्माको भनाई छ ।
अनुसन्धान पश्चात के कारबाही गर्ने भन्ने बारेमा निर्णय लिइने समेत उहाँले बताउनुभयो । जनताको स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको र यदि सबै प्रमाणित भएमा कानून अनुसारको कारबाही गरेरै छाड्ने प्रशासनले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts