नवलपरासी । राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल बर्दघाट नगर समितिले भु-उपयोग नीति अनुसार वर्गीकरण गरी जग्गा उपलब्ध गराउन माग गरेको छ ।
शुक्रबार मञ्चले बर्दघाट नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै भुमिहिनलाई जग्गा उपलब्ध गराउनु पुर्व बर्दघाट नगरपालिका र राष्ट्रिय भुमि आयोगले भु-उपयोग नीति, ऐन, कार्यविधि र नियमावलीअनुसार जग्गाको वर्गीकरण गर्न माग गरेको हो । मञ्चकी अध्यक्ष उमाकली पाण्डेसहितको टोलीले ज्ञापनपत्र बुझाउँदै सहरी गरिब र गाउँले गरिबको मापदण्ड तयार गरिनुपर्ने माग राखेको छ ।
८ बुँदे मागमा मापदण्ड अनुसार जग्गा भोग गरेको आधारमा नापी गरिनुपर्ने, सुरक्षित बासको अवधारणा अनुसार जग्गा उपलब्ध गराउँदा समग्र भौतिक पुर्वाधार विकास गर्नुपर्ने माग राखिएको छ ।
त्यस्तै जग्गा उपलब्ध गराउँदा विपद व्यवस्थापन नीतिअनुसार सुरक्षित जमिन उपलब्ध गराउनुपर्ने, अव्यस्थित बसोबासीको हकमा निजको सम्पतिको न्यायिक विश्लेषण गरी राजश्व वैज्ञानिक र न्यायोचित बनाइनुपर्ने माग राखिएको छ ।
त्यस्तै भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई उपलब्ध गराउने जग्गाको किटान गरिनुपर्ने जग्गा उपलब्ध गराउँदा संयुक्त लाल पुर्जाको व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
ज्ञापन पत्र बुझ्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले मापदण्ड र कार्यविधिको आधारमा काम गरिने बताउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले क्रमशः सबै सेवाग्राहीका समस्या समाधान गर्दै अगाडी बढिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता