नवलपरासी। बर्दघाट नगरपालिका भित्र सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले कर छुट गरी स्थायी लेखा नम्बर (पान) उपलब्ध गराउन माग गरेका छन् ।
आज बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्साल, बेलहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बृहस्पति अधिकारी, पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष यमबहादुर क्षेत्री लगायतको टोलीले बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठलाई निवेदन पेश गर्दै उक्त माग राख्नुभएको हो ।
खानेपानी संस्थाहरुले समुदायबाट सञ्चालित सामाजिक सेवामुलक संस्था भएकाले सोझै नविकरण गरी स्थायी लेखा नम्बर पाउनुपर्ने तर शुरु मितिदेखि नै शुल्क तिनुपर्ने भनिएका कारण स्थायी लेखा नम्बर लिन नसकिएको जनाएका छन् ।
उपभोक्ता संस्थाहरुले आफ्नो आयस्रोत शदस्यता शुल्क, धाराजडान शुल्क, पानी महशुलबाट संकलित रकमलाई मर्मत शंभार, पाइप लाइन विस्तार, आन्तरिक निमार्ण, कार्यालय सञ्चालन तथा भवितव्यका लागी आवश्यक अनुसार योजना निमार्ण गर्ने उपभोक्ताहरुको आफ्नै जिम्मेवारी रहेको, नेपाल सरकारको सर्वमान्य नियमका विरुद्ध ती कोषहरुमा रहेको रकमलाई आम्दानी मानी २५ प्रतिशत कर दावी गर्ने मनासिव नभएको निवेदनमा उल्लेख रहेको छ ।
उपभोक्ता समूहहरुले आयकर ऐन २०५८, नियमावली २०५९ र नेपालको संघिय ऐन २०७९ अनसार यस प्रकारका संस्थाहरुलाई कर नलाग्ने भनी उल्लेख भएकाले कर छुट हुनुपर्ने माग रखेका छन् ।
उपभोक्ता समूहका पदाधिकारीहरुलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले कर छुट गरी स्थायी लेखा नम्बर उपलब्ध गराउन आफुहरुले समेत सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता