विराटनगर । आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले जानकारी दिनुभयो ।
प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ आन्दोलनमा छ। नेताहरूलाई अवरोध गर्ने, बन्द हड्ताल गर्ने जस्ता कार्यक्रमहरू समितिले गर्दै आएको छ।
उक्त आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बूको मृत्यू हुनुका साथै कडा आन्दोलन गर्दै आएका छन् ।
मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रको विकासका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गर्नुभएको छ। किरात सभ्यतालाई शीरमा राखेर आदिवासी जनजातिको पहिचान कायम गर्दै माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ ।
शनिबारको मन्त्रीपरिषद् बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्वीकृत, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिक संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts