शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउन कार्ययोजना निर्माण गरेको छ । निकुञ्जमा पर्यटक आकर्षित गर्न स्थापनाको एक दशकपछि रणनीतिसहितको कार्ययोजना निर्माण गरिएको हो । देशकै कान्छो निकुञ्जको रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज बाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको थियो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्जलाई पर्यटकको लागि आकर्षक गन्तव्य बनाउनको लागि बृहत छलफलमार्फत कार्ययोजना निर्माण गरिएको छ ।
‘कार्ययोजना बनाएका छौं । पर्यटकको संख्या बढाउने नै हाम्रो उद्देश्यले रहनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि विभिन्न स्थानमा पूर्वाधार निर्माण गरिनेछ ।’ निकुञ्जले तयार गरेको कार्ययोजनामा होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारी लगायतका समेएिका छन् ।
उहाँले ओभरीबाट पर्यटकीय गतिविधि, वनपथ, पानी, घाँसेमैदान सुधार र सञ्चालनमा आउन बाँकी पोस्टहरू तत्काल सञ्चालन गरिने योजना बताउनुभएको छ । यस्तै बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने उद्देश्य रहेको छ । अहिलेसम्म घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् ।
बाघसँगै दुर्लभ मानिने चौका निकुञ्जमा प्रशस्त छन् । ११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित ३०० किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा गरी ४२२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुञ्जमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निकुञ्ज तराई, भावर र चुरे क्षेत्रमा फैलिएकाले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुञ्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छ । गाभरमा थारु, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts