धादिङ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्राेत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित नवौँ धादिङ महोत्सव माघ १० गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
धादिङ उद्योग वाणिज्य संघले धादिङको गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव हुन लगिएको हो ।
त्रिशूली किनारमा हुन लागेको नवौँ धादिङ महोत्सवको शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो। कृषि, पर्यटन, औद्योगिक, व्यापारिक प्रदर्शनी साथै स्थानीय उत्पादनको प्रचारप्रसार र प्रवर्द्धन गर्न र जिल्लाको सांस्कृतिक विविधताको संरक्षणमा सहयोग पुग्ने अपेक्षा रहेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले जानकारी दिनुभयो ।
‘महोत्सवमा एक सय ५० वटा स्टल रहनेछ। त्यसमध्ये ५० वटा स्टलहरू जिल्लाभित्रका विभिन्न प्रकारका सेवा र वस्तुहरूको प्रवर्द्धनात्मक र पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निःशुल्क प्रदान गरिनेछ,’ अध्यक्ष थपलियाले भन्नुभयाे, ‘महोत्सवमा मुख्यतः घरेलु उत्पादन, कृषि उत्पादन, स्थानीय पहिचानसहितको वस्तु तथा सेवा प्रवर्द्धनमा जोड दिइनेछ। पर्यटनमा जलयात्रा पहिलो प्राथमिकता छ।
महोत्सवको आम्दानीबाट संघको संस्थागत विकासमा ठोस योगदान पुगोस् भन्ने उद्देश्यका साथ व्यावसायिक पुस्तकालयसहितको व्यावसायिक सूचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजनासहित प्रक्रिया सुरु भएको छ।’
धादिङ उद्योग वाणिज्य संघले २०६४ सालबाट महोत्सव गर्न थालेको हो। त्रिशूली किनारमा आयोजना गरिएको यो नवौँ संस्करण तथा गलौदीमा तेस्रोपटक १० देखि २१ माघसम्म महोत्सव आयोजना हुने तालिका तय गरिएको छ।
धादिङ उद्योग वाणिज्य संघले त्रिशूली किनारमा यसअघि गलौदीमा २०६८ र २०७०, चरौँदीमा ०७५ सालमा महोत्सव गरिसकेको छ।






