हुम्ला । हुम्ला जिल्लाको विभिन्न गाउँबस्तिहरुमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालो (झरो) को राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली,ताँजकोट गाउँपालिकामा मनाइएको छ । भुवो पर्वको आफ्नै पहिचान झल्काउने कला संस्कृतिसहित प्रदर्शन गर्दै मनाइएको हो ।
जिल्लाका अधिकांश गाउँपालिकामा आ–आफनो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तिमा सल्लाको दियालो सल्काएर गाउँको पाइक पर्ने स्थान (भुवाखाडो)मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत गाएर रातभरि जाग्रम बस्ने चलन रहेको सर्केगाड गाउँपालिका–३ उनापानी गाउँका शिभराज फडेराले बताउनुभयो ।
हिउँदको समयमा खेतीपातीबाट फुर्सद हुने समय भएकोले पनि यो भुवो पर्व हुम्लाका सबै गाउँमा परापुर्वकालदेखि मनाउने चलन रहिआएको स्थानीय फडेराले बताउनुभयो । यस्तै खार्पुनाथ गाउँपालिका-५ को ताक्ला, माम्टा गाउँमा समेत भुवो पर्व मनाइएको छ । बुधबारदेखि शुरु भएको भुवो पर्वमा सबैले मीठा-मीठा खानेकुरा एक आपसमा बाँडीचुडी खाने परम्परा रहेको छ ।
ठेहे गाउँका लागि विशेष पर्व
जिल्लाको सबैभन्दा बढी जनसंख्या र घर एकआपासमा जोडिएर ठूलो (घना) वस्ति रहेको सिमकोट गाउँपालिका–१,२ ठेहे गाउँमा भुवो पर्वलाई दशैं,तिहारको जस्तै महत्वका साथ यो पर्व मनाउने गरेका छन् । गाउँभन्दा टाढा सरदमुकाम,अन्य गाउँवस्तिमा कामको शिलशिलामा रहेका ठेहेका वासिन्दा यो दिन घर आइपुग्छन् ।
रातीको एक बजे उठेर सबै घरका सदस्यहरूले सल्लाको दियालो सल्काउँदै भुवोको बारेमा गीत गाएर गाउँको पाइक पर्ने ठाउँ (भुवोखाडा)मा सबै भक्तजनको दियालो जम्मा गरी आगो बाल्ने परम्परा रहेको छ । काठका ठूला–ठूला मुढा बालेर रातभरि जाग्राम बसेर गीत, फाक, चाँची गाएर मनाएकोे ठेहेका स्थानीय गोफी रावलले बताउनुभयो । कपालमा सेतो पटुकी, घाँटीमा पहेंलो कपडा, उनले बनाएको रातो बोख्खु र कम्मरमा सेतो पटुकी बाँधेर भुवाखाडोमा पुरुष जम्मा हुने गर्दछन् । भने धामीझाँक्रीले सेतो बोख्खु लगाउने गर्दछन् । महिला र बालबालिकाले राती चिसो हुने हुँदा बाक्लो कपडा लगाएर भुवो मनाउने स्थान भुवाखाडामा जाने गरेको रावलले बताउनुभयो ।
युवा पुस्ताले भने गाउँमा कुटुम्बकी छोरीसँग पानी मागेर ठटेउली शब्द बोलेर रमाइलो गर्ने चलन रहेको राववले बताउनुभयो । ठेहे गाउँमा बोहरा थरका युवाले भण्डारी र भण्डारी, रावल थरका युवाले बोहरा थरका युवतीसँग पानी माग्दै उनिहरुका बुवा,बाजेको नाम पुकार्ने चलन रहि आएको उहाँले बताउनुभयो । एक टोलबाट कुटुम्बको अर्को टोलमा गएर पानी माग्ने चलन रहेको छ । उता बुढापाखाहरू भने रातभरि जाग्रम बसी भुवो देवता, देवीदेवताका भोजन, फाक, चाँची गाएर भुवोको अगेनु वरिपरि बसी गीत गाउने चलन रहेको समेत सिमकोट गाउँपालिका–२ का हुनी बोहराले बताउनुभयो ।
विहिबार (आज) बिहान पख दियालो सल्काएर गाउँ नजिकै खोला वा मुल पानीको धारोनजिकै भुवो विर्सजन गरी स्ननाहन गरेका छन् । हिउँद यामको माइनसमा झरेको तापक्रमको चिसोको कुनै प्रवाह नगरी नुहाउँछन् । बिहान सबेरै आफ्ना मान्यजनको घरमा गएर ढोक गर्ने चलन समेत रहेको बोहराले बताउनुभयो । राति भुवो खेल्दा मान्यजनको नाम पुकारेर गरेको गालीको माफी माग्न ढोग गर्न जाने चलन रहेको छ । आज दिनभरि नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शनका खेल, चुढाल (तरवार) नाच, फुर्का खेल खेल्ने चलन भएको उहाँले बताउनुभयो ।
महाभारतको स्मरणमा भुवो पर्व
महाभारतका पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै हुम्लाका विभिन्न गाउँमा भुवो खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको संघर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवोका गीत गाउने चलन छ । वनबास बस्दा पाण्डवका भाइहरू पुगेको ठाउँमा छोडेको चिनारी भएको आसपासमा यो पर्व बढी मनाउने चलन रहेको बौद्धिक व्यक्ति तथा शिक्षक सुर्यमणी बोहराले बताउनुभयो । भुवाखाडामा मुणा जम्मा गर्ने र भुवा औंसीको अघिल्लो दिन राति मुणा सल्काई रातभरी देउडा, भुवो गीत, फाँक,चाँची, भोस्सो, खेल्ने चलन रहेको बोहराले बताउनुभयो ।
शिक्षक बोहराले भन्नुभयो, “आज दिउँसो दायाँ हातमा तरवार र बायाँ हातमा ढाल समाई बाजाको तालमा तरवार नाच नाच्ने चलन छ । पौराणिककालमा पाण्डव र कौरवबीच लडाई हुँदा एक हातमा तरवार र अर्को हातमा ढाल समाई गरेको सम्झनामा तरवार नाच खेल्ने गरिन्छ ।”
उहाँले भन्नुभयो, राती राँकेजुलुसको अर्को विशेषता पाण्डव र कौरवको लडाईमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँकेजुलुस निकाल्ने गरिन्छ । बोहरा थरका पुरुषले प्रत्येक टोलमा राँकेजुलुस निकालेर काठका दाउरा(मुणा) माग्ने गर्छन् । राति चारबजे राँको सल्काई नजिककै खोलामा गई नुहाएपछि शरीरको छालासम्बन्धी रोग हराउने र पुसको चिसो रातमा नुहाउँदा मान्छेमा यति धेरै शक्ति रहेछ भनेर राक्षसहरु डराउने हुँदा सबै मान्छेहरु एकैसाथ खोला वा धारामा नुहाउने चलन रहेको छ । भुवा पर्वको अन्तिम दिन दिउँसो सबै मान्छे भुवाखाडामा जम्मा भई आफूभन्दा ठूलाको हातबाट टिका लगाई आर्शिवाद माग्ने समेत रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय भुवो पर्वप्रति युवाको आकर्षण घटदै गएको स्थानीय बासिन्दाले बताएका छन् । यो पर्व हुम्लाका ठेहे, ताक्ला, राया, सर्किदेउ, उनापानी, रोडीकोट, राहदेव श्रीमष्ठा, मेल्छाम, दार्मा, मिमि, जैर, कालिका, श्रीनगर मैला र मदाना गाउँमा भव्य रुपले मनाएका छन् ।
फोटो : हुम्लाको सिमकोट गाउँपालिका–१,२ ठेहे गाउँमा मनाइने भुवो पर्वमा सल्लाहको दियालो (राँको) समातेर भुवो जगाउन (आगो बाल्न) लाइनमा बसेका युवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts