सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६ जसेदमारमा अवस्थित नवज्योति बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा (ट्रयाक सुट) वितरण गरिएको छ ।
कनपा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सोमबार एक औपचारिक कार्यक्रमका बिचमा दुई सय २४ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्नु भएको हो । नवज्योति बहिरा माध्यमिक विद्यालयमा ५२ जिल्लाका अपाङगता भएका तथा फरक क्षमता भएका विद्यार्थी अध्यनरत छन् ।
उक्त विद्यार्थीहरुलाई लुगा वितरण गर्नु हुँदै नगर प्रमुख पोखरेलले अपाङगता भएका तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मानसँगै प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।
फरक क्षमता भएका बालबालिकालाई पढाईमा आर्कषण गर्न विद्यालयमा अध्यनरत विद्यार्थीको न्युनतम स्वास्थ्य उपचार खर्च नगरले व्यवस्थापन गर्ने उहाँको प्रतिबद्धता छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कनपा–६ का वडाध्यक्ष उज्वल कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पोखरेलले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पुर्वधारको विकाससँगै शिक्षकको शसक्तीकरणमा जोड दिइरहेको सुनाउनुभयो ।
प्लान नेपालको साझेदारी तथा कमलामाई नगरपालिकाको समन्वयमा दुई लाख ५२ हजार रुपैयाँ बराबरको लुगा वितरण गरिएको कार्यक्रम आयोजक संस्था ह्यान्स नेपालको गल्र्स स्ट्यान्डिङ स्ट्रोङ परियोजना, सिन्धुलीका अधिकृत नवराज श्रेष्ठले जानकारी दिनुभयो ।
बढ्दै गएको चिसोबाट जोगिन न्यानो लुगा निशुल्क रुपमा उपलब्ध भएपछि आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए । विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु तथा सामाजिक व्यक्तिहरुको सहभागिता थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts