
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सरकारमा सामेल दलहरूले संयुक्त उम्मेदवारी दिने भएका छन् । सिट बाँडफाँडमा सहमति भएसँगै सत्तारूढ र सरकारलाई समर्थन गर्ने दलहरूले संयुक्त उम्मेदवारी दिने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन हुन लागेका १९ वटै सिटमा दलहरूबीच भागबण्डा मिलेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंग्याएको उहाँले बताउनुभयो । १९ सिटमध्ये १० मा कांग्रेस, ६ वटा नेकपा (माओवादी केन्द्र), दुईवटा नेकपा (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको लेखकले जानकारी दिनुभयो ।
राष्ट्रियसभामा बागमतीबाट सबैभन्दा बढी चार, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन/तीन गरी नौ, कोशी, मधेश र लुम्बिनीबाट दुई/दुई गरी ६ समेत १९ सिटका लागि निर्वाचन हुँदै छ । कांग्रेसले पाएका १० सिटमा बागमती, गण्डकी र सुदूरपश्चिममा दुई/दुई गरी ६, कोशी, मधेश, लुम्बिनी र कर्णालीमा एक/एक सिट कांग्रेसले पाएको छ । माओवादीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक/एक गरी ६ सिट पाएको छ । नेकपा एकीकृत समाजवादीले बागमती र कर्णालीमा एक÷एक सिट प्राप्त गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले मधेशमा एक सिट पाएको छ । सिट बाँडफाँडमा असन्तुष्टि जनाएको एकीकृत समाजवादी दुई सिट मात्रै लिन तयार भएको छ । समाजवादीले राष्ट्रियसभामा तीन सिट दाबी गरेको थियो ।
गठबन्धन दलहरूले सिट बाँडफाँडमा सहमति गरेर संयुक्त उम्मेदवार दिने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने एक्लै चुनावमा होमिने भएको छ । गठबन्धनसँग तालमेल प्रयास असफल भएसँगै एमाले एक्लै चुनाव लड्ने भएको हो । यसअघि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेलाई पनि सामेल गराउनेबारे छलफल भएको थियो । तर, एमालेले धेरै सिट मागेपछि गठबन्धन ‘ब्याक’ भएको हो ।
एमालेबाहेक प्रतिपक्षीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलहरू पनि एक्लाएक्लै चुनाव लड्ने भएका छन् । राप्रपाले गठबन्धनसँग सहकार्य गर्ने प्रयास गरे पनि कुनै सहमति हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साथ लिने एमालेको प्रयास छ । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच लामो छलफल भएको थियो । छलफलको विषय सार्वजनिक नभए पनि राष्ट्रियसभा निर्वाचनकै सन्दर्भमा कुराकानी भएको धरैको आँकलन छ ।
अहिलेकै स्थितिमा सत्तारूढ गठबन्धनबीच तालमेल र इमानदार कार्यान्वयन भए एमालेले कुनै पनि सिटमा विजय हासिल गर्ने सम्भावना छैन । राष्ट्रियसभाका लागि हुने निर्वाचनमा सबै प्रदेशमा गठबन्धन मतभारका हिसाबले बहुमतमा छ । राष्ट्रियसभाका रिक्त २० सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । जसमा १९ जना निर्वाचनबाट र एकजना मनोनीत हुनेछन् ।
दलहरूले टुंग्याए उम्मेदवार
राष्ट्रियसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार टुंग्याएका छन् । मनोनयन दर्ता गर्ने एक दिनअघि आइतबार दलहरूले उम्मेदवार टुंगो लगाएका हुन् । सत्ता गठबन्धनमा रहेका दलहरूले भागबण्डाअनुसार र एमालेले सबै सिटमा उम्मेदवार टुंग्याएको हो । एमालेका १९, माओवादीले ६ र जसपाले एक सिटमा उम्मेदवार टुंग्याएको हो ।
यस्तै, राप्रपाले पनि उम्मेदवार टुंग्याएको छ । राप्रपाले राष्ट्रियसभा चुनावका लागि १५ जना उम्मेदवारको टुंगो लगाएको छ । सातवटै प्रदेशमा उम्मेदवारी दिने गरी राप्रपाले नाम छनोट गरेको हो । कोशीबाट एक, मधेशबाट दुई, बागमतीबाट चार, गण्डकीबाट दुई र लुम्बिनीबाट दुई उम्मेदवार उठाउन लागिएको हो । यस्तै, कर्णालीबाट एक र सुदूरपश्चिमबाट तीन उम्मेदवार राप्रपाले छनोट गरेको छ । राप्रपाले राष्ट्रियसभामा एकसिट पाउने गरी सत्ता गठबन्धनसँग छलफल गर्ने प्रयास पनि गरिरहेको छ । तर, छलफल र कुनै सहमति भने हुन सकेको छैन ।
जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्यमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले मधेश प्रदेशमा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गत निर्वाचनमा उहाँ प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो ।
कांग्रेसमा मध्यरातसम्म किचलो, एकीकृत समाजवादी अनिर्णित
राष्ट्रिय सभा उम्मेदवार छनोटका विषयमा कांग्रेसमा विवाद भएको छ । अरु दलहरूले उम्मेदवार टुंग्याए पनि संस्थापन इतर समूहका कारण कांग्रेसमा विवाद भएको हो । नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले गठबन्धनबाट पाएको १० सिटबाट कम्तीमा ४ सिट आफ्नो समूहले पाउनुपर्ने माग राखेपछि कांग्रेसमा उम्मेदवार छान्न सकस परेको हो । सभापति शेरबहादुर देउवाले भने धेरैमा ३ सिट मात्र दिन सकिने अडानमा लिनुभएको थियो । दुवै पक्षको अडानका कारण आइतबार रातिसम्म कांग्रेस बैठक बसिरहेको थियो । संस्थापन र इतर समूहीच भागबन्डा नमिल्दा १० उम्मेदवार छान्न कांग्रेसलाई हम्मे हम्मे परेको हो । आइबार दिनभर दुवै समूहबीच छलफल भएको थियो । कांग्रेसमा सहमति नभएपछि शेखर समूहले छुट्टै छलफलसमेत गरेको थियो । यता, एकीकृत समाजवादीले भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न नै सकेन । तीन सिट मागे पनि गठबन्धनबाट दुई सिट मात्र पाएको एकीकृत समाजवादीले आइतबार सचिवालय बैठकबाट उम्मेदवार टुंगो लगाउने प्रयास गरेको थियो । तर, सम्भव भएन ।
यी हुन् एमालेका १९ उम्मेदवार
नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धन दलहरूले भागबण्डा गरेर उम्मेदवारी दिन भए पनि एमालेले सबै पदमा उम्मेदवारी दिने भएको हो । महासचिव शंकर पोखरेलका अनुसार एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । मधेशबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक/अपांगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका धु्रवराज विश्वकर्मा उम्मेदवार बनाउने भएको छ ।
गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बनाउने भएको छ । लुम्बिनीमा महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती उम्मेदवार हुनुहुनेछ । कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी उम्मेदवार बन्नुहुने भएको छ ।
माओवादीका उम्मेदवार : झक्कुदेखि रेणुसम्म
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । कोशीमा चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्णप्रसाद अधिकारी, गण्डकीमा मनरूपा शर्मा सुवेदी, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी नेताहरूले जनाएका छन् । माओवादीले सत्ता गठबन्धनमा भागबण्डा गर्दा १९ मध्ये ६ सिट पाएको छ । आगामी फागुनमा पदावधि सकिनेमा माओवादी केन्द्रका तीनजना सांसद छन् ।
जनमोर्चाकी दुर्गा पौडेललाई मनोनीत र सिटौलालाई अध्यक्ष बनाउने तयारी
राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको छ । सत्ता गठबन्धनको आइतबार बसेको बैठकमा मनोनीत हुने एक सिट जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई लैजाने सहमति भएको हो । नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित हुनुभएको थियो । यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन सहमत हुनुभएको कांग्रेस उच्च स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेसका पूर्वमहामन्त्री सिटौला सोमबार राष्ट्रियसभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदै हुनुहुन्छ ।
२०४७ मतदाता, ५७ हजार ५५९ मतभार
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।
सातवटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । कोशीमा जम्मा १० हजार १३५ मतभार छ ।
मधेश प्रदेशमा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । मधेशमा कुल मतभार १० हजार ७४४ छ । त्यस्तै, बागमती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् भने मतभार १० हजार ३३३ छ ।
गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७० गरी २३० मतदाता कायम भएका छन् । यहाँ कुल मतभार ६ हजार ४१० कायम भएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २१८ गरी जम्मा ३०५ मतदाता कायम भएका छन् । मतभार ८ हजार ७५३ कायम भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९६ मतदाता कायम भएका छन् । यहाँ मतभार ५०८४ छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य ५२ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी २२८ जना मतदाता कायम भएका छन् । यहाँ ६ हजार १०० मतभार कायम भएको छ । यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको मतभार १९ रहेको छ । प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार कायम भएको प्रवक्ता पौडेलले बताउनुभयो ।
आज उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदै छ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि निर्वाचन आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको छ ।
आयोगले यही पुस ४ गते नै मतदाता नामावली स्वीकृत गरेको थियो । निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिहृन भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ । निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक÷एक मतदानस्थल र दुई/दुईवटा मतदान केन्द्र कायम गरिएको छ । मतदान भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच