दाङ । मानव बेचबिखन मुद्दामा मुछिएका र गुन्डागर्दी पृष्ठभूमिका सरोज थापा (रोज राणा) लाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्योगमन्त्री बनाए पछि आफ्नै पार्टीको इतरसमूह चिढिएको छ ।
मन्त्रालय फुटाएर मन्त्री थपेको र मन्त्री छनोट गर्दा समन्वय नगरेको भन्दै कांग्रेसको संस्थापन इतर समूहले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाउँदै आएको मात्रै छैन सरकार विरुद्धका कार्यक्रम बनाएर अघि बढ्ने समेत बताएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले विधि र पद्धति मिचेर सरकार चलाउनेहरुलाई पार्टीको सहयोग नहुने भन्दै यसको सजायका लागि अब लाग्ने बताउनुभयो ।
'यो सरकारको विरोधमा खरो रुपमा पार्टीको प्रदेश समिति उभिन्छ' पुनले भन्नुभयो सरकार विरुद्धका कार्यक्रम बनाएर आफूहरू अघि बढ्ने समेत उहाँले जानकारी दिनुभयो। पार्टीको लुम्बिनी प्रदेश समितिमा इतर समूह हाबी छ । यो प्रदेशसभामा काँग्रेस संस्थापन समूहका २२ सांसद छन् भने इतर समूहका जम्मा ५ सांसद मात्रै छन्।
सभापति पुनको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिमण्डल बिस्तार गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ । पार्टीसँग सल्लाह नहुनु एउटा कुरा, पार्टीको संसदीय दलको बैठकबाट नाम निर्णय गरेर समेत नपठाइनुलाई प्रदेश सभापति पुनले विधि र पद्धति नै मासेर मन्त्री नियुक्त गरिएको दाबी गर्नुभयो। ‘पार्टीको संसदीय दलको बैठक बसेर कसलाई मन्त्री बनाउने भनेर निर्णय गर्नु पर्दैन?’ सभापति पुनले भन्नुभयो ‘को हो संसदीय दलको नेता? संसदीय दलको नेतालाई संसदीय दलको बैठक नराखेर निर्णय गर्ने अधिकार कसले दियो? विधि र पद्धति मिच्ने अधिकार एउटा व्यक्तिले कसरी पायो?’ लुम्बिनीमा मुख्यमन्त्री सहित मन्त्री भएका कांग्रेसका सांसदहरू सभापति शेरबहादुर देउवानिकट मानिनुहुन्छ। पुनले पार्टीबाट मन्त्री पठाउँदा विधिसम्मत तरिकाबाट पठाउनुपर्ने बताउनुभयो। प्रदेश सभापति पुनले आफ्ना प्रतिष्पर्धी दीपेन्द्र पुन (सिजल) लाई मन्त्री बनाउन नहुने भन्दै लबिङ गरेकोले मुख्यमन्त्री चौधरी उहाँसँग रुष्ट बनेको स्रोत बताउँछ ।
माओवादीबाट टिकट नपाएपछि गठबन्धनका उम्मेदवार पुनबिरुद्ध दीपेन्द्रले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर जित्नुभएको थियो । कांग्रेस प्रदेश सभापति पुनलाई मनाउन माओवादी नेता बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित नेताहरुको दंगीशरण –३ चखौरास्थित रिसोर्टमा छलफल गर्दा पनि पुनले दीपेन्द्रलाई मन्त्री बनाउने कुरा मान्नुभएको थिएन । आवरणमा चलचित्र निर्माता र निर्देशक भनेर चिनिएका रोज डान्सबारमा युवतीलाई जबर्जस्ती नग्न नृत्य गराएको अभियोगमा समेत पक्राउ परेका व्यक्ति हुन् ।
थापा २०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट उम्मेदवार भई प्यूठानको प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित हुनुभएको हो । मुख्यमन्त्री चौधरीले मन्त्रालय फुटाएर कांग्रेसबाट थापालाई उद्योग मन्त्री र माओवादीबाट कृष्णा केसी (नमुना) लाई सहरी विकास मन्त्री बनाएका बनाउनुभएको थियो।
गत वैशाखमा मुख्यमन्त्री भएका चौधरीले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन । उहाँले एक मन्त्रालय अझै आफैंसँग राख्नुभएको छ । पार्टीको संस्थापन पक्षको कडा निर्देशन पालना गर्दै सरकारमा संस्थापन इतर समूहलाई नील पारेका मुख्यमन्त्री चौधरीकै निर्णयका कारण यो प्रदेशमा दुई समूह बिचको कडा टकरावको बीजारोपणको सङ्केत गरिदिएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता