काठमाडौं । लोकप्रिय गीतकार डी.पी.खनाल (दुर्गाप्रसाद खनाल) को जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न गीतकार संघ नेपालले अपिल गरेको छ । संघले बुधबार एक प्रेश विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक, संघ-संस्था एवं समग्र संगीतप्रेमी नेपालीहरूमा अपिल गरेको हो । गीतकार खनाल अचानक अस्वस्थ भई गत कात्तिक ३० गते पाटन अस्पताल भर्ना हुनुभएको थियो । उहाँ हालसम्म उपचाररत अवस्थामै रहनुभएको छ ।
अस्पताल भर्ना भई चेकजाँचपछि फोक्सो र ढाडमा रगतका साथै पिपसमेत जमेको पत्ता लागेको थियो । हालसम्म उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको भए पनि के कारणले त्यस्तो भएको हो ? र के कति समय उपचार गर्नुपर्ने हो ? भन्ने कुरा अहिलेसम्म यकिन हुन नसकेको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘करिव ४० दिनदेखिको उपचार क्रममा ठूलो धनराशी खर्च भइसकेको र खर्चको अभाव हुँदै गएको जानकारी प्राप्त भएकोले यस संघका अध्यक्ष वसन्त बित्यासी थापाको नेत्तृत्वमा गएको सल्लाहकार राजेन्द्र थापा, उपाध्यक्ष रमेश कोइराला, महासचिव टीका राई ‘शिव’, र कोषाध्यक्ष चेतन खतिवडाको टोलीले गीतकार खनाललाई अस्पतालमै भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएपछि संघको तर्फबाट नगद २५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
गीतकार खनालले आफ्नै स्रोतबाट मात्र उपचार खर्च जुटाउन सम्भव नदेखिएको भन्दै उहाँको जीवन रक्षाका लागि इच्छुक दाताहरूले सिधैं गीतकार संघ नेपालको नाममा एभरेष्ट बैंकमा रहेको खाता नम्बर ००१००१०५२००८४७ मा जम्मा गर्न वा संघका अध्यक्ष वसन्त बित्यासी थापा (९८४९६११२३९), महासचिव टीका राई ‘शिव’ (९८५२८९०३८३) र कोषाध्यक्ष चेतन खतिवडा (९८५११६७२९२) लाई सम्पर्क गरी नगर्दै सहयोग गर्न सक्ने संघले जनाएको छ ।






