हामी २८ वर्ष पूरा गरी २९ वर्षको यात्रामा लागेका छौँ । करिब तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह-अवरोह हिमालय टाइम्स राष्ट्रिय दैनिकले अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब नवीन भविष्यको परिकल्पनामा अग्रसर छौँ । विगतका अनुभवलाई हामीले पाठका रूपमा मात्र लिनुपर्ने हुन्छ । सधैँ तिनै अनुभवहरूको भारी बोकेर नयाँ यात्रा थाल्न सकिँदैन । नयाँ यात्रामा नयाँ जोश, नयाँ उत्साह, नयाँ संकल्प र नवीन ऊर्जाका साथ संलग्न हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।
यसैकारण हामी ती अभिलेखबद्ध भइसकेका दिनहरूलाई स्मरण गर्ने पक्षमा छैनौँ । भविष्यलाई सुखद र गतिशील बनाउने हाम्रो अभियान हुनेछ । अहिले छापा माध्यमसामु अनेकौँ चुनौती छन् । खासगरी विद्युतीय माध्यमहरूले विस्तारै कागजी माध्यमलाई विस्थापन गर्न लागेको यो समय हामी मात्र होइनौँ संसारभरका छापा माध्यमहरू अफ्ठेरोमा परिरहेको अवस्था छ । तर, छापा माध्यमहरूको अनिवार्यतालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । छापा माध्यमलाई सुरक्षित गर्नु प्रवद्र्धकसहित संस्थामा आबद्ध वा शुभेच्छुकहरूबाट मात्र सम्भव हुँदैन । सरकारको नीति सहयोगी हुनुपर्छ । अहिले विज्ञापनदेखि अनेक सन्दर्भमा छापा माध्यमहरूले अप्रिय अवस्थाको सामना गरिरहनु परेको छ । यो बेलामा सरकारले स्पष्ट नीतिका साथ छापा माध्यमहरूको सुरक्षाको लागि उचित नीति र निर्णय गरोस् भन्ने हाम्रो आग्रह छ ।
हामी विगतमा जस्तै गरी पूर्ण प्रेस स्वतन्त्रता, मानव अधिकारको रक्षा, सामाजिक न्यायको विकास, निमुखा, विपन्न र सीमान्तकृतहरूको दबिएका स्वरलाई सतहमा ल्याउने प्रयत्न गरिरहने छौँ । हामी राष्ट्र, जनता र वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्यहरूप्रति इमानदारीपूर्वक प्रतिबद्ध छौँ । कुनै पनि सर्तमा हामी मूल्यच्यूत हुनेछैनौँ ।
हिमालय टाइम्स राष्ट्रिय दैनिकको यात्रालाई तीन दशकको अन्तिम सिँढीसम्म ल्याइपुर्याउन धेरै सहयोगी सहकर्मीहरूको योगदान रहेको छ । जसलाई हामी बिर्सन सक्दैनौँ । एक प्रकारले हिमालय टाइम्स राष्ट्रिय दैनिक नयाँ पुराना पुस्ताका पत्रकारहरूको पाठशाला नै भएर स्थापित भएको संस्था हो ।
आजको यस सुखद अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, पत्रकार मित्रहरू, फोटोग्राफर, कलाकार, लेखकहरू, सम्वाददाताहरू, व्यवस्थापन, प्रशासन, विज्ञापन, राजस्व आदिमा बसेर योगदान गर्ने र कार्यालय सहयोगीहरू सबैप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
हामीलाई स्नेहपूर्वक शुभकामना दिनुहुने माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माज्यूमा हिमालय टाइम्सको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । जय हिमालय टाइम्स ।
आभा मिश्र
अध्यक्ष
इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालि.
२०८० पुस १०







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts