✍️ रामजी दाहाल
पछिल्लो राजनीतिक परिवर्तनको उपलब्धि हो, संघीय शासन व्यवस्था । जुन व्यवस्था सुरु भएपछि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे विजयी भएका थिए । नयाँ संरचनाबीच कुशलतापूर्वक पाँच वर्ष नगरपालिकाको नेतृत्व सम्हालेका उनै चालिसे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ४ मंसिर २०७९ को संसदीय चुनावमा उनी काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित भएका हुन् ।
स्थानीय सरकारको नेतृत्व सम्हालेका चालिसे जस्ता चारजना निर्वाचित जनप्रतिनिधि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख रहेका धवलशमशेर राणा पछिल्लो संसदीय चुनावमा बाँके क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् । एमालेबाट निर्वाचित रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । यसैगरी, एमालेकै तर्फबाट इलामको इलाम नगरपालिका प्रमुखमा निर्वाचित महेश बस्नेत इलाम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
स्थानीय सरकार हाँकेका जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य मात्र होइन, प्रदेशसभा सदस्यमा पनि निर्वाचित भएका छन् । जनताको घरदैलोको सरकार सञ्चालन गरेका एक दर्जनभन्दा बढी त्यस्ता जनप्रतिनिधि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । तीमध्येकी एक हुन्, काठमाडौं निर्वाचन क्षेत्र नं. ६ (क) बाट निर्वाचित हरिप्रभा खड्गी । उनी २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेर काठमाडौं महानगरपालिकाको उपप्रमुख निर्वाचित भएकी थिइन् ।
यसैगरी, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख रहेकी सीताकुमारी सुन्दास स्याङ्जा निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । उता, रुकुम पश्चिम जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा रुकुमपश्चिम निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ ललितपुर २ (क) बाट र मोरङको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली मोरङ ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं. १ (क) बाट, स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल स्याङ्जा १ (ख) बाट र इलामको रोङ गाउँपालिका अध्यक्ष शमशेर राई इलाम १ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।
नर्सरी व्यवस्थापन
स्थानीय सरकार भनेको गाउँघरका सिंहदरबार हुन् । विकास निर्माणका योजनादेखि स-साना समस्याको गाँठो फुकाउने काम उनीहरूले नै गर्दै आएका छन् । त्यसकारण पनि स्थानीय सरकारका निर्वाचित ती प्रतिनिधिहरूसँग स्थानीयको प्रत्यक्ष सम्बन्ध र बाक्लो उपस्थिति रहेको हुन्छ । यसो हुँदा सम्बन्धित राजनीतिक दलका नेताहरू जनप्रतिनिधिप्रति बढी नै भरपर्ने गरेका छन् । कतिपय ठाउँमा केन्द्रीय नेतृत्वका लागि नागरिकसँगको सम्पर्क सूत्र पनि तिनै स्थानीय जनप्रतिनिधि भएका छन् । त्यसकारण स्थानीय सरकारमा बसेर उदाहरणीय काम गरेका जनप्रतिनिधिहरू हरेक दलको नेतृत्वको रोजाइमा पर्ने गरेका छन् । त्यसैको परिणाम पार्टीले विश्वास गरी टिकट पाएर उनीहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुन सफल भएका हुन् ।
हिजोको दिनमा स्थानीय सरकार हाँकेकाहरूले जसरी टिकट पाएर विजयी भई प्रतिनिधिसभा र प्रदेशसभामा पुग्न सकेका छन्, भोलिका दिनमा त्यो संख्यामा उल्लेख वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । र भविष्य स्थानीय तहका त्यस्ता जनप्रतिनिधिलाई टिकट दिनु दलहरूको बाध्यता पनि हुनेछ । किनभने हरेक दलका नेताका लागि चुनाव जित्नु पहिलो प्राथमिकता हुन्छ । स्थानीय तहमा प्रभाव पार्नसक्ने उम्मेदवार नै धेरै मतदाताको रोजाइ हुन्छ । त्यस अर्थमा स्थानीय सरकार भनेको भविष्यका लागि आवश्यक पर्ने राष्ट्रिय नेतृत्व उत्पादन गर्ने कारखाना पनि हुन् । यसो हुँदा हरेक दलको केन्द्रीय नेतृत्वले त्यस्ता कारखानामा मलजल गर्नका लागि सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
त्यसो त स्थानीय सरकार भनेको केन्द्रीय नेतृत्व उत्पादन गर्ने कारखाना मात्र पनि होइन । त्योभन्दा पनि महत्वपूर्ण कुरा भनेको प्रजातान्त्रिक नेतृत्व विकासका लागि स्थानीय सरकार पाठशाला पनि हो । नागरिकको घरदैलोमा पुगेर लोकतन्त्रको महत्व अनि लोकतान्त्रिक संस्कारका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनु पनि उनीहरुको दायित्व हुन्छ । निर्वाचित जनप्रतिनिधिका यस्ता कदमले अन्ततः प्रजातान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन मद्दत पुर्याउँछ ।
यसरी उदाहरणीय काम गरेका स्थानीय सरकारको चर्चा गरिरहँदा कतिपय त्यस्ता जनप्रतिनिधिका गतिविधिका कारण उनीहरू त विवादमा मुछिए नै साथै, आबद्ध दल र सिंगो स्थानीय सरकारसमेत बदनाम हुन पुगेका उदाहरण छन् । घुस लिँदै गर्दा समातिएका कतिपय जनप्रतिनिधिका फाइल अख्तियारको निगरानीमा छन् । चरित्रहीन क्रियाकलापका कारण कतिपयले प्रहरी खोरमा रात बिताएका पनि छन् । यस्तो वास्तविकतालाई ध्यानमा राखेर अहिलेका जनप्रतिनिधिले नागरिक हितका पक्षमा काम गरेमा पक्कै पनि भोलिका दिनमा उनीहरूका लागि प्रदेशसभा र संघीय संसद्को ढोका खुल्न सक्छ ।
(स्पेश खबर अनलाइनका सम्पादक दाहाल विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा