
✍️ विमल भौकाजी
तपाईं-हामीले सुन्ने-देख्ने गरेको रोटीको नाम होइन ‘देश-रोटी’ । सामान्यतः सेलरोटी या अन्य कुनै नामको रोटीमात्रै हामीले देखेका हौँ, सुनेका हौँ, खाएका हौँ । तर, यो देश-रोटी ?
देश-रोटी सामान्य रोटी होइन । धेरै मानेमा यो अन्य रोटीभन्दा भिन्न छ । यसका बारे अध्ययन गर्ने हो भने एउटा कुरा प्रष्ट हुन्छ, त्यो के भने यत्तिकै नामाकरण भएको होइन यसको । गहिरिएर नाममा ध्यान दिएर सोच्ने हो भने बुझ्न सकिन्छ-पक्कै पनि यस्तो नाम रहनुको पछाडि विशेष कारण छ । हो, साँच्चै नै एउटा कारण छ, त्यो हो-यो रोटी एउटा देशको आकारको छ ।
त्यसो त यो रोटी, सामान्यतयाः रोटी जो गोलो हुनुपथ्र्यो-त्यस्तो गोलो आकारको छैन । त्यसो हो भने, एउटा प्रश्न सहजै उठिहाल्छ– देश रोटीजस्तो गोलो छैन भने नाम किन रोटी-देश राखियो त ?
हो, देश-रोटी रोटीजस्तो गोलो छैन । यसो भन्दैमा चेप्टो भनेर पनि बुझिनु हुन्न । र, देश-रोटी चेप्टो पनि छैन । थेप्चो पनि छैन । र, डल्लो पनि छैन । वास्तवमा यो लाम्चो छ, चार-कुनो छेउ नमिलेको लमतन्न... ।
यो देश-रोटीको एउटा आफ्नै कथा छ ।
आकर्षक थियो देश-रोटी । त्यो यसकारण पनि कि योजत्तिको सुन्दर रोटीविश्वभरमै अर्को थिएन ।
देश-रोटी सबैको प्रिय थियो । तर, त्यसलाई खान उद्धत् थिए भोकाहरू ।
देश-रोटी खानका लागि सबैभन्दा बढी देखिन्थे त्यहाँ मुसाहरू । र, दौड चलिरहेको थियोतिनको ।
यत्तिकै सिधा दौडिरहेका थिएनन् मुसाहरू ।
दौडँदादौडँदै एउटा चलाख दायाँतिर दौडिन्थ्यो, अर्को बायाँतिर दौडिन्थ्यो । फेरि अर्को मुसा मास्तिर, अर्को तल्तिर । कुनै अगाडितर्फ, कुनै पछाडितर्फ दौडिन्थ्यो । त्यसरी दौडनुको एउटा खास कारण थियो । त्यो कारण के थियो भने मुसाहरूलेत्यो रोटीको विशेष बास्नाको महसुस गरिरहेका हुन्थे ।
देख्दादेख्दै-
तिनैमध्ये एउटा मुसाले देश-रोटीलाई सुँघ्यो र लामो सास तानेर बडो आनन्द मान्यो ।
अर्को मुसाले देश-रोटीलाई मजाले चाट्यो । र, त्यो दृश्य देख्ने अर्को मुसाले र्याल चुहायो र त्यसले पनि त्यसरी नै चाट््यो ।
‘होइन, कति मीठो स्वाद हँ यसको, बडो सुगन्धित बास्ना पो छ त !’ एउटा मुसाले दोस्रो मुसासँग कानेखुसी गर्यो ।
दोस्रोले तत्कालै भन्यो-‘अनि यस्तो मीठो माटोले बनेको रोटीको बास्ना कमको हुन्छ त ?’
पहिलोले तत्कालै प्रतिक्रिया व्यक्त गर्यो- ‘मलाई माटोको बास्ना असाध्यै मनपर्छ ।’ र, त्यो मुसाले देश-रोटीलाई प्वाल पार्न थाल्यो । त्यो देखेर दोस्रो मुसाले पनि त्यसरी नै माटोलाई प्वाल पार्न थाल्यो । अब अरू मुसाहरू चाहिँ किन चुप लागर बस्थे र ! तिनीहरूले पनि धमाधम माटोलाई प्वाल पार्न थाले ।
देश-रोटीको प्वाल क्रमशः ठूलो-ठूलो हुँदै गयो ।
निकै ठूलो प्वाल बनेपछि त्यहाँबाट तररर... रस चुहिन थाल्यो ।
रस चुहिएको हेरिरहेको थियो आफ्नो झुण्डबाट एउटा कुकुरले । लोभी त्यो कुकुरले आफ्नो प्यासी नजरलाई धेरैबेर सम्हाल्न सकेन, आफ्नो प्यास मेटाउन अचानक देश-रोटीमाथि आक्रमण गर्यो । अर्थात्, त्यसमाथि आफ्नो मुख गाड्यो र रस चुस्न थाल्यो । जति–जति रस चुस्दै गयो त्यसप्रति झन्–झन् लोभ बढ्दै गयो कुकुरको । छोड्दै छोडेन देश-रोटीलाई ।
यो दृश्य कुकुरको छेवैमा बसिरहेको स्यालको नजरबाट किन छिप्थ्यो ? धूर्त स्यालले पनि देश-रोटीको छेउमा आउँदै कुकुरलाई सोध्यो-‘होइन, म हेरेको हेर्यै छु, यो रस कसरी आइरहेको हँ यस्तरी ? कहिल्यै सकिँदैन त !’
‘जसरी आओस् न, के मतलब मलाई ? मजाले रस चुस्न पाइएकै छ ।’ रस चुसेको चुस्यै कुकुर बोल्यो ।
स्यालले कुनै अनुसन्धाताले झैँ भन्यो–‘होइन, केही रहस्य त पक्कै छ, यो माटोभित्र केही न केही हुनै पर्छ ।’
‘होस् न जेसुकै आ... ।’ स्यालको तर्कलाई बेवास्ता गर्दै कुकुरले भन्यो ।
‘खोइ छोड त एकपटक, म हेरौँ !’ कुकुरलाई अलिक पर पन्छाउँदै स्याल अघि बढ्यो र देश-रोटीको प्वालमा मुख गाड्दै भित्र पस्यो । जति-जति भित्र पस्दै गयो स्याल उति-उति देश-रोटीप्रति आशक्त बन्दै गयो ।
एक ठाउँ पुगेर स्याल अचानक अडियो । यसकारण अडियो कि त्यसको मुखबाट आपसेआप एउटा वाक्य निस्कन पुग्यो-‘होइन, के यस्तो अनौठो देख्दै छु म ?’ हुन पनि, स्यालको सामु एउटा अनौठो दृश्य देखियो । त्यसले आश्चर्यचकित मुद्रामा हेर्न लाग्यो, अगाडि सुन्दर ताल थियो ।
अलिक अघि बढ्यो स्याल, फेरि देख्यो अझै सुन्दर ताल । आहा ! अझ अगाडि, अझ अगाडि...तालै ताल । तालमात्रै होइन, सलल नदीहरू पनि बगिरहेका थिए ।
स्यालले पछाडि फर्केर हे¥यो । र, देख्यो आफूजस्तै थुप्रै स्यालै स्याल ऊतर्फै आइरहेका थिए । आँखा मिच्यो स्यालले । स्यालको त्यो झुण्डसँगै ब्बाँसाहरू पनि स्यालका काँधमा काँध मिलाएर आइरहेका देख्यो । कुकुरहरू पनि किन त्यत्तिकै बसिरहन सक्थे र ! ती पनि भुक्दै–भुक्दै आइरहेका थिए । र, साथमै थिए मुसाहरू पनि । सबैभन्दा रमाइलो त बाँदरहरूको समूहलाई भइरहेको थियो । साथमा हिँडिरहेका जनावरहरू जे गर्थे बाँदरहरू पनि त्यही गर्दै अगाडि आइरहेका थिए ।
अब झन् रमाइलो भयो । जनावरै जनावरको हुल !
आ-आफ्ना वर्गका जनावर !
र, सबै जनावरहरूले हाँस्दै-रमाउँदै देश-रोटीभित्र रजगज गर्न लागे । कोही उफ्रन्थे, कोही मडारिन्थे ।
खुँद्नसम्म खुँदे तिनले देश-रोटीलाई । कुनै जनावर पानीको ती तालहरूमा डुबुल्की लगाउँथे, कुनै जनावर नदीमा हाम्फाल्थे, जानी नजानी पौडी खेल्थे र त्यहीँभित्रै फोहोर गरिदिन्थे ।
त्यतिमै सीमित रहेनन् जनावरहरू । अगाडि बढ्दै जाँदा जनावरहरूले मनमोहक हिमालयहरू देखे ।
हिमालयको सुन्दरता देखेर तिनको मन थेगिइरहन सकेन । त्यसलै, हिमालमा गएर लुटपुटिन थाले । लुटपुटिए मात्रै होइन, हिमाललाई लुछ्न लागे, चिथोर्न लागे ।
र, फर्के त्यहाँबाट । फर्कंदा अर्को बाटो भएर फर्के । गज्जब ! त्यो बाटोमा फरक खालको अर्कै दृश्य देखे ती जनावरहरूले । त्यहाँ हरियो चौर थियो, अग्ला-अग्ला रूखहरूको जंगल थियो ।
जंगलमा मनपरी लुकामारी खेल्न लागे तिनीहरू ।
अन्ततः देश-रोटीलाई जनावरले यस्तो बनाए कि हेरिनसक्नुको अनुहारको बनाए ।
००
यतिखेर तपाईं जहाँ उभिनुभएको छ, उभिएको उभियै हेर्नुस् त देश-रोटीलाई !
-बङ्बङ्ती धूलोमात्रै उडेको छ,
-रगतपच्छे छ,
-घाइते-घाइते, उठ्नै नसक्ने गरेर थला परेको छ देश-रोटी ।
(लेखक भौकाजी शारदा साहित्यिक पत्रिकाको सम्पादक तथा वरिष्ठ साहित्यकार हुनुहुन्छ ।)
०००
bimalbhaukajee@hotmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच