कालीकोट । रास्कोट नगरपालिका वडा नम्बर-२ सिपखानाका नन्दाप्रसाद उपाध्याय वर्षले ६७ हुनुभयो । उमेरले पाको भए पनि उहाँको एकछिन पनि हात खाली हुँदैन । नन्दाप्रसाद कि त पात्रो पढ्दै गरेको भेटिनुहुन्छ कि त थालमा चामल हेर्दै । दैनिकजसो १० देखि १५ जना नन्दाप्रसादको घरमा हेराउन आउने गर्छन् । ४० वर्षदेखि बैदारी काम गर्दै आउनुभएका बैदार नामले चिनिने उहाँ ज्योतिषीमार्फत् आम्दानीसँगै जनचेतनासमेत दिन थाल्नुभएको छ ।
रास्कोट धार्मिक सञ्जालका उपाध्यक्षसमेत रहनुभएका उपाध्याय भन्नुहुन्छ, ‘ज्योेतिषीमार्फत् आम्दानीसँगै जनचेतनासमेत दिन थालेको छु । मैले ज्योतिषी काम गरेको ४० वर्ष भयो । सान्नी, रास्कोटलगायतका क्षेत्रका मान्छेहरू आउने गर्छन् । बालविवाह गर्नु, बहुविवाह गर्नु, महिला हिंसाजस्ता कामहरू गर्नु कानुनीरूपमा पनि दण्डनीय रैछ भनेर प्रत्येकलाई चेतना दिन्छु । बालविवाहले त जन्मेको बच्चा पनि राज्यको सेवा-सुविधाबाट वञ्चित हुनुपरेको समेत बताउँछु ।’
उमेर नपुगेर गरेको विवाह बालविवाह मानिन्छ । १७ वर्षमा विवाह हुन्छ, १८ वर्षमा बच्चा जन्मिन्छ । कानुनीरूपमा २० वर्ष नपुगी विवाह दर्ता मिल्दैन । विवाह दर्ता नभई जन्मिएको बच्चाले जन्म दर्ता पाउँदैन । जन्म दर्ता नभएर राज्यले दिने सेवा-सुविधाबाट वञ्चितसमेत हुनुपरेको छ । बीचको समयमा जन्मेको बच्चा अवैधजस्तो हुने गरेको नन्दाप्रसाद बताउनुहुन्छ ।
पहिलाको भन्दा अहिले बालविवाह कमै भएको देखिन्छ । विभिन्न संघसंस्था र समूहको सक्रियतामा बालविवाहजस्ता कुप्रथा केहीमात्रामा रोकिएका छन् । यसमा संघसंस्थासँगै सरकारी तवरले पनी नीतिनियम बनाउन सके बालविवाह, घरेलु हिंसा अझै रोकिने देखिन्छ । मैले पनि बालविवाह गरेको हुँ । उतिबेला बालविवाह, बहुविवाह समाजमा बढी नै हुने गर्थे । काुनन त पछि बन्यो तर चेतनासमेत भएन, हाम्रो समाजमा कुनै बेला गाउँमा लेखपढ गर्न जान्ने पहिलो व्यक्ति भएकाले गाउँमा उहाँलाई ‘बैदार’ को नामले चिनिन्छ ।
हुन त अहिले पनि उहाँ बैदारकै नामबाट चिनिनुहुन्छ । परम्परागत हुने विवाहहरूलाई न्यूनीकरण गर्नका लागि धार्मिक अगुवा र नागरिक समाज सञ्जाल र धार्मिक सञ्जालका अगुवाहरूलाई सम्मेलन गरेर बालविवाह न्यूनीकरणमा प्रशिक्षण दिँदै आएको प्लान इन्टरनेसनल नेपालको सहयोग र सादा नेपालको सहजीकरणद्वारा सञ्चालित बालविवाह, छिटो विवाह, र जबरजस्ती विवाह परियोजनाका फिल्ड सुपरभाइजर केवल बमले बताउनुभयो ।
उहाँका अनुसार यो परियोजनाले बालक्लब, किशोरकिशोरी समूह र धार्मिक सञ्जाल गठन गरेर बालविवाहजस्ता कुप्रथाको न्यूनीकरणमा सक्रिय रहेका छन् । परियोजनाले आर्थिक अवस्था कमजोर भई विद्यालय जानबाट वञ्चित बालबालिकालाई पनि सहयोग गरी नियमित स्कुल जाने गरेको उहाँको भनाइ छ ।
सानै उमेरमा विवाह गर्ने र गराउने धेरै कारण हुन सक्छ । यसमध्ये सबैभन्दा ठूलो कारण अशिक्षा र चेतनाको अभाव हो । गरिबी, घरको अवस्थाका कारण, कसैको दबाबका कारण र विभिन्न प्रलोभनका कारण पनि सानै उमेरमा विवाह गर्ने या गराउने हुन सक्छ । त्यस्तै आजभोलिको आधुनिक जमानामा पश्चिमी संस्कृतिको धेरै प्रभाव परेकाले यसको अनुशरण गर्ने कारणले पनि समाजमा धेरै विकृतिहरू पैदा भएका छन् । जसले गर्दा बालविवाह गर्न थप हौसला प्रदान गरेको बालअधिकारकर्मीहरूले बताउने गरेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता