खाँदबारी । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत महेन्द्र मावि मानेभञ्ज्याङ जुनियर रेडक्रस सर्कलको आयोजनामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ । देशभरका विभिन्न जिल्लाबाट छानिएर आएका ५३ वटा लिखित कविताबीच एक कार्यक्रमसहित प्रतिस्पर्धा भएको थियो ।
युवा सर्कल तथा जुनियर सर्कलका कविताबीच छुट्टा छुट्टै मूल्यांकन भएको कवितामा दुवै समूहका प्रथम, द्वितीय र तृतीय भएका छन् । जुनियर्सका कविताहरूमध्ये ओमशान्ति एकेडेमी चितवन सर्कलका भविशिखा श्रेष्ठ प्रथम, सिंहदेवी मावि नूनढाकी, संखुवासभा सर्कलका युना शेर्पा द्वितीय, सिस्नेरी मावि सर्कल ललितपुरका जीवन शर्मा, गुल्मीका प्रशंसा अर्याल र काठमाडौंका पवन साही सान्त्वना स्थानमा आउनुभएको थियो ।
युवा सर्कलका कवितातर्फ कृषि वन विज्ञान विश्वविद्यालय चितवनका शेरवहादुर साउद प्रथम, आदर्श मावि म्याग्दीका सन्दीप नेपाली दोस्रो, नेपाल कमर्स क्याम्पस, मिनभवन काठमाडौंका मौसम आचार्य तृतीय तथा महेन्द्र मावि, संखुवासभाका लक्ष्मी बानियाँ र एओएस एकादमी सुर्खेतका गिनिज अधिकारीले सान्तवना स्थान प्राप्त गर्न सफल हुनुभएको छ । कविताको शीर्षक ‘मानव सेवामा जुनियर युवाको भूमिका’ रहेको थियो । शब्द संयोजन, भाषातत्व, शैली, विम्व प्रतीक, गेयात्मकता र लयात्मकता तथा भाव तत्वका आधारमा मूल्यांकन गरिएको मूल्यांकन कर्ता ताराबहादुर बुढाथोकीले जानकारी गराउनुभयो ।
आगामी जुनयर युवा राष्ट्रिय गोष्ठीमा पुरस्कार वितरण गरिने आतिथ्य गर्ने सर्कलका संरक्षक मेदिनी घिमिरेले बताउनुभयो । कविताका मूल्यांकन समितिमा कविहरू ताराबहादुर बुढाथोकी, कृष्ण चापागाईं र राजेन्द्र सर्वहारा रहनुभएको थियो । यस प्रकारका प्रतियोगिताबाट विद्यार्थीमा लेखन सीपको साथै मानव सेवाको भावना विकास हुने मूल्यांकन समितिका सदस्यहरूले बताउनुभयो । कार्यक्रममा नेरेसो संखुवासभाका मन्त्री कृष्णचन्द्र श्रेष्ठ, सदस्य टीका गौली, सदस्य लक्ष्मी कार्की, महेन्द्र मावि सर्कलका संरक्षक मेदिनी घिमिरे र शिक्षक नायक रुद्र बोगटी उपस्थित हुनुहुन्थ्यो ।






