कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका नौजना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र (सादा नेपाल) को साझेदारीमा सञ्चालित बालविवाह छिटो विवाह जबरजस्ती विवाह रोकथाम परियोजनाअन्तर्गत एक कार्यक्रमबीच विपन्न समुदायका नौजना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर-१, २, ३, र ९ का चारजना बालविवाहको जोखिममा परेका बालिका र विद्यालय जान छाडेर पुनः भर्ना भएका तर अभिभावकविहीन वडा नम्बर- १, २ र ४ का विपन्न पाँचजना बालक गरी जम्मा नौजना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको बताइएको छ ।
शैक्षिक सामग्री अभावमा बालबालिका विद्यालयमा जान वञ्चित नहोऊन् भन्दै परियोजनाले विगतदेखि विभिन्न शैक्षिक सामग्री, र खेलकुदका सामग्री वितरण गर्दै आएको छ । सन् २०१९ देखि कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका सान्नी त्रिवेणी गाउँपालिका र रासकोट नगरपालिकामा रहेका स्पोन्सरसिप बालबालिकालाई संस्थाले सहयोग गर्दै आएको छ ।
जोखिममा रहेका बालबालिकाको परिवारमा आर्थिक अबस्था कमजोर हुँदा बालबालिकाले सहज रूपमा विद्यालयमा गएर शिक्षा हासिल गर्न कठिन नहोस् भन्दै केही आय-आर्जनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विपन्न समुदायको आर्थिक, सामाजिक र शैक्षिक स्थितिमा सुधार ल्याई बालविवाहको दर घटाउन समुदाय केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सादा नेपालका फिल्ड अफिसर गोविन्द विकले जानकारी दिनुभयो ।
शैक्षिक सामग्री कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मीना रावत (विक) गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्ट र उपप्रमुख कमलकुमार शाहले बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो । बालबालिकालाई सामग्री दिँदै गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले विभिन्न साझेदारी संघसंस्था र दातृ निकायका कारण नरहरिनाथ गाउँपालिकामा रहेका विपन्न समुदायका नागरिकको जीवनमा परिवर्तन आएको बताउनुभयो ।
अध्यक्ष विष्टले न्यून आए भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा बालबालिकालाई अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रूपमा यस्ता कार्यक्रम जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा गाउँपालिकामा यस्ता बालबालिकाहरू छन् भने गाउँपालिकाको तर्फबाट पनि सहयोग गर्नेछ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता