बारा । बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यू भएको छ ।
सिम्रौनगढ नगरपालिका १ ननसागरा घाटका लक्ष्मी मुखिया विनको मृत्यू भएको बाराका प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेले बताउनुभयो ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा कर्मचारी र जनप्रतिनिधिले हाजिर गर्न नदिएपछि विवाद भएको उहाँले बताउनुभयो ।
कर्मचारी र जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतलाई सिम्रौनगढ नगरपालिकाको कार्यकक्षमा हाजिर हुनबाट रोक्न खोज्दा विवाद भई प्रहरीले गोली चलाएको हो । तलबको माँग गर्दै २ महिना देखि आन्दोलन गर्दै आएका शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई कार्यालयमा हाजिर हुन जाने क्रममा रोक्न खोज्दा झडपको स्थिति आएको प्रहरी उपरिक्षक सुरेश काफलेले बताउनुभयो । कमचारीहरुले प्रमुख प्रशासकीय अधिकृत मिश्र सवार बा२झ ४३५४ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै नगरपालिकाको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको प्रहरी उपरिक्षक काफलेले जानकारी गराउनुभयो ।
गोली लागेर सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया विनको मृत्यू भएको उहाँले बताउनुभयो । प्रहरीले ३० राउण्ड अश्रु ग्यास र २० राउण्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ । झडपमा परी करीब एक दर्जन प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाईते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रनाउ न्यौपानेले बताउनुभयो । सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि तलब भत्ता माग गर्दै शिक्षक र कर्मचारी आन्दोलनरत रहेका छन् । नगरप्रमुख किशोरी साह मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका हुन । कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत रहेको छ । मुख्य मन्त्री सरोज कुमार यादव र नेपाली काँग्रेसको टकरावका कारण नगरपालिकाको नगर परिषद हुन नसकेर कर्मचारीहरुले तलब भत्ता समेत खान पाएका छैनन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता